Logo

राष्ट्रपति भण्डारी जेनेभामा



विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली :  जेनेभा, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन आज यहाँ आइपुग्नुभयो ।

उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्वीट्जरल्यान्डका स्थायी प्रतिनिधि आमादो पेरेज तथा जेनेभा क्यान्टोनका नायब शिष्टाचार महपालले स्वागत गर्नुभयो ।

साथै उहाँलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सहायक महानिर्देशक तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक तोमोको निसिमोतो, सङ्गठनका महानिर्देशकका कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी ली र सङ्गठनका वरिष्ठ शिष्टाचार अधिकृतहरूले पनि स्वागत गर्नुभयो ।

साथै उहाँलाई स्वीट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल तथा राजदूतावासका वरिष्ठ अधिकृतहरूले पनि स्वागत गर्नुभयो ।
राष्ट्रपति भण्डारी आज बिहान संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट यहाँ आइपुग्नु भएको हो ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीयसचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्