Logo

निर्वाचन आयोगद्वारा चुनाव सार्ने प्रस्ताव अस्विकार



काठमाडौं, १ असार । दोस्रो चरणको निर्वाचन सार्ने प्रस्तावलाई निर्वाचन अयोगले अस्विकार गरेको छ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीसहित सत्ता पक्ष दलका नेताले गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचनको मिति सार्ने प्रस्तावलाई अस्विकार गरेका हुन्।

आयोगका पदाधिकारीले निर्वाचनमा सबै तयारी पूरा भइसकेको र गृह मन्त्रालयले पनि निर्वाचनकालागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सकिने बताएकाले पनि निर्वाचन सार्न नहुने बताएका थिए।

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले यसअघि पनि तीन पटक सम्म निर्वाचनको मिति सारिसकिएको उल्लेख गर्दै निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा निर्वाचनको मिति सार्न नहुने बताएका थिए। उनले निर्वाचन गराउने काम जहिले पनि चुनौतीपूर्ण हुने भन्दै गृहमन्त्रीलगायत सुरक्षा निकायले निर्वाचनको सुरक्षा प्रवन्ध मिलाएको जानकारी आफूहरुलाई दिएको बताएका थिए।

आयोगले अहिले पनि चुनावको मिति सार्ने हो भने त्यसको असर प्रदेश र संसदको निर्वाचनमा पर्ने भन्दै माघ सात भित्र तीन वटै निकायको चुनाव गराउन पनि तोकिएकै समयमा चुनाव गर्नुपर्नेमा जोड दिएको थियो।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले चुनावको मिति केही समय सारेर सबै दललाई निर्वाचनमा आउन वातावरण बनाउन के गर्नुपर्ला भनेर आयोगलाई सोधे र आयोगका पदाधिकारीले चुनावको मिति गर्दा प्रदेश र संसदको चुनावमा असर पर्ने जवाफ आएको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्