Logo

निर्वाचनमा सबै सहभागी बनौँ : नेम्वाङ



दमक, ३ असार । नेकपा ९एमाले० का नेता सुवासचन्द्र नेम्वाङले राजनीतिक स्थायित्व र समृद्धिका लागि निर्वाचनमात्र विधिसम्मत आधार भएकाले निर्वाचनमा सबैलाई सहभागी बन्न आग्रह गर्नुभएको छ । उहाँले वर्तमान राजनीतिक अस्थिरता अन्त्यका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

आज इलामको चुलाचुली गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेता नेम्वाङले तर निर्वाचनको वातावरण सहज बनाउन सरकार असफल भएको समेत टिप्पणी गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन पटक पटक सारिँदा जनतामा अन्योल भएको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमार्फत जनताले आफ्नो अधिकार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । सो सभालाई एमाले इलामका अध्यक्ष राम राना, प्रचार विभाग प्रमुख नवराज शङ्करलगायतले सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य डम्बर पहाडी, सानु पहाडीको समेतको उपस्थिति रहेको थियो ।

गाउँ कमिटी अध्यक्ष ओमनारायण खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा युवा सङ्घ चुलाचुलीका संयोजक कञ्चन राईले मन्तव्य राख्नुभएको थियो भने सभामा गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार क्रमशः प्रदीपचन्द्र राई र निर्मला दाहालले प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot