Logo

राजपालाई देखाएर कांग्रेसले चुनाव सारेको ओलीको आरोप



काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेशमा एमालेविरुद्धको फिंजाइएको भ्रम समाप्त हुँदै गएको वताए ।

हिमाल, पहाड तराई जोडिएको समग्र राष्ट्रलाई विकासको बाटोमा अघि बढाउने पार्टी एमाले रहेको र लडाईं झगडाले देश बर्वाद पार्न खोज्नेहरुले एमालेलाई मधेस विरोधी भनी फिंजाएको भ्रम समाप्त हुँदै गएको ओलीले बताए ।

आईतबार विहान राजपा नेपालका कोषाध्यक्ष अनिता यादव र राजपाकै केन्द्रिय सदस्य राजेश्वर महासेठलाई आफ्नो पार्टीमा स्वागत गर्दै यस्तो बताएका हुन् । उनले अघि भने,‘हामी जुनसुकै ठाउँमा बस्ने नेपालीको काँधमा देश बनाउने जिम्मेवारी छ, देश हाम्रो हो मिलेर देश बनाउँ भन्यौं। लडाईं झगडा दंगाफसादको सहारामा अस्थिरता पैदा गर्न खोज्नेहरुलाई यो कुरा मन परेन, उनीहरुले एमाले मधेस विरोधी हो भनेर भ्रम फिंजाए ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रदेश नम्बर २ को चुनाव राजपालाई देखाएर कांग्रेसले सारेको पनि स्पष्ट पारे । ओलीले अघि भने,‘प्रदेश नम्बर २ को चुनाव किन सारियो ? सबैलाई थाहा छ, देखाइयो राजपा, सार्नु पर्ने कांग्रेसलाई, चुनाव सार्न कांग्रेसले पार्टीका जिल्ला सभापति बोलायो, सांसद र मन्त्री बोलायो, चुनाव सार्ने निवेदन लेख्न लगायो अनि राजपालाई देखाउँदै चुनाव सार्यो ।’

तराई/मधेसमा जनाधार भएका हरेक पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्न थालेको बताउँदै ओलीले एमालेले निषेधको राजनीति सहनु परेको गुनासो पोखे । ओलीले थपे,‘हाम्रो देश केही वर्षभित्र समृद्ध हुन्छ, हाम्रो समृद्धिलाई किन रोक्नु पर्ने ?, समृद्धिलाई रोक्ने र लडाईं झगडालाई प्रवद्र्धन गर्न चाहने सवै पक्ष मिलेर एमालेविरुद्ध निषेधको राजनीति गरिरहेका छन्, एमालेले आफ्ना कुरा भन्न नपाउने निषेधको राजनीति सहनु परेको छ ।’

एमालेका कार्यक्रम र योजना जनताका बीचमा राख्ने अवसर भए सबै भ्रमको अन्त्य हुने डरले एमालेलाई आफ्नो भन्नै नदिन राजपा, कांग्रेस र माओवादी मिलेर निषेध गरिएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्