Logo

सरकारी कार्यालय भवनको आवश्यकता अध्ययन गर्न समिति गठन



काठमाडौँ, ४ असार । सहरी विकासमन्त्री प्रभु साहले आज पदबहाली गर्नुभएको छ ।

गत जेठ २४ गते शपथ लिनुभएका मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सो मन्त्रालयको जिम्मेवारी दिएपछि आज पदबहाली गर्नुभएको हो । प्रधानमन्त्री देउवाले जेठ २४ गते शपथ लिएसँगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि शपथ लिनुभएको थियो ।

पदबहाली गरेसँगै मन्त्री साहले प्रदेशस्तरमा सरकारी कार्यालय भवनको आवश्यकता पहिचान र मापदण्ड पहिचानबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव रमेश सिंहको नेतृत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गर्नुभएको छ ।

“बजेट भाषण हुँदा सहरमा विभिन्न विकासका कुरा गर्ने तर प्रतिफल केही पनि नदेखिने, बजेट भाषण हुँदा के के न हो जस्तो लाग्ने र असार महिनासम्म आइपुग्दा केही पनि नहुने, त्यस्तो समस्या तोड्नुपर्छ”, मन्त्री साहले भन्नुभयो ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मन्त्री साहको कार्यकाल सफल बनाउन आफ्नो नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो । सन् १९७१ मा रौतहटमा जन्मिनुभएका साह नेकपा (माओवादी केन्द्र) का तर्फबाट रौतहट–३ बाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुनुहुन्छ । मन्त्री साहले कानुनमा स्नातक उत्तीर्ण गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot