Logo

अध्यक्ष प्रचण्डसँग उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट



काठमाडौं, असार ४ । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भुवानी राणा र उपाध्यक्ष चन्द्र ढकालले भेट गर्नुभएको छ ।

सोमबार दिउँसो अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कालमा नीजि क्षेत्रले निकै ठूलो उत्प्रेरणा र हौसला प्राप्त गरेको बताउनु भयो ।

भेटमा उद्योग वाणिज्य महासंघका अध्यक्ष राणाले प्रचण्डको प्रधानमन्त्रीकाल नेपालको समृद्धि र विकासका लागि नमूनायोग्य रहेको बताउँदै नीजि क्षेत्र प्रचण्डकै नेतृत्वमा देशको समृद्धि अगाडि बढेको हेर्न चाहेको बताउनु भयो ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्रचण्डको कार्यकालमा राष्ट्रिय गौरवका आयोजनाहरुमा तिब्रता आउनु, लोडसेडिङको अन्त्य हुनु र आर्थिक वृद्धिदर गुणात्मक रुपमा बढ्नु नीजि क्षेत्रका लागि निकै सुखद् विषय भएको बताउनु भयो ।

भेटमा अध्यक्ष प्रचण्डले आफूले निकै मेहेनत गरेर नै देशमा लोडसेडिङको अन्त्य, तिब्र आर्थिक वृद्धिदर, मूल्य वृद्धि नियन्त्रण, बन्द, हड्ताल नहुने वातावरणको सिर्जना र विकास आयोजनाहरुले तिब्रता पाएको बताउनु भयो ।

आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थिरता महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा नरहे पनि नेपालको विकास र प्रगतिका लागि आफ्नो निरन्तर पहल रहने बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot