Logo

जनयुद्ध नेतृत्वको मनोगत चाहनाले भएको थिएन : प्रचण्ड



काठमाडौं, ६ असार । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्धारा लिखित पुस्तक ‘अंश’को बिमोचन गर्दै प्रचण्डले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको बताउनु भएको हो ।

पुस्तक बिमोचन गर्दै प्रचण्डले भन्नुभयो, ‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै नेताको मनोगत चाहनाले भएको थिएन । हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं । तर, देशको राजनीतिले अर्कै मोड लियो । पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो । त्यसैले हामी संयुक्त जनआन्दोलन समिति बनाएर २०४६ सालको जनआन्दोलनमा भाग लियौं र युद्धको परिस्थिति केही वर्ष पछि धकेलियो ।’

आफूहरुले १२ बुंदे समझदारी नेपालमै होस् भन्ने चाहे पनि प्रतिकूल परिस्थितिका कारण सम्भव नभएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले बार्ताका लागि कोशिस गरिरहेका थियौं । बीरेन्द्रका भाइ धिरेन्द्रसँग त साथीहरुले प्रत्यक्ष कुराकानी गर्नुभएको थियो । बीरेन्द्रसँग बार्ताको प्राविधिक विषयमा कुराकानी चलिरहेको थियो, त्यही बेला दरबार हत्याकाण्ड घट्यो । दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो । यसले फेरि देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरुबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्मायो । यही प्रतिकूल परिस्थितिका कारण हामीले देशभित्रै चाहे पनि दिल्ली गएर १२ बुंदे समझदारी गरियो ।’

नेपालको गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको ठूलो भूमिका रहेको चर्चा गर्दै प्रचण्डले भन्नुभयो, ‘नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापनामा पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । सञ्चार जगतले सकारात्मक भूमिका नखेलेको भए लोकतन्त्र र गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुन्थ्यो ।’ उजिर मगरद्धारा लिखित पुस्तक अंश नेपाली राजनीति र पत्रकारिताको बिवरणात्मक दस्तावेज भएको प्रचण्डले बताउनु भयो ।

बिमोचन कार्यक्रममा सम्पादकहरु नारायण वाग्ले, गुणराज लुईटेल, युवराज घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, पत्रकार गोविन्द आचार्य लगायतले कृतिको समीक्षा गर्नुभएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot