Logo

थारू र पहाडे बीचको एकता कसैले टुटाउन नसक्ने : रावल



टीकापुर, ६ असार । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले थारू र पहाडी समुदाय बीचको एकतालाई कसैले पनि टुटाउन नसक्ने बताउनुभएको छ ।

एमाले नगर कमिटीको आयोजनामा आज यहाँ भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सदियौँ देखिको थारू र पहाडी समुदायबीचको सम्बन्धलाई टुटाउन प्रयास गरे पनि आफूहरुले नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले थारूको माघी पर्व आउँदा आफू ढोलक बजाएर नाच्ने गरेको उल्लेख गर्दै थारू पनि दसैँ–तिहारजस्ता पर्वमा रमाउने गरेको चर्चा गर्नुभयो ।

उहाँले आसन्न निर्वाचनमा थारू, राई, लिम्बू पूर्वेली र पश्चिमेली एक भएर यहाँका सम्बन्ध बिगार्नेलाई परास्त गर्ने दाबी गर्नुभयो ।

उहाँले सरकारले पटक पटक निर्वाचनको मिति सारेर नराम्रो सन्देश गएको चर्चा गर्दै निर्वाचन सार्नु लोकतन्त्र माथिको नै खतरा भएको औँल्याउनुभयो ।उहाँले सरकारले कैलाली, कञ्चनपुर, झापा, मोरङलाई एउटा छुट्टै आयोग बनाएर अहिलेको प्रदेशबाट छुट्याउने प्रयास भएको आरोप लगाउनुभयो ।

सभामा सांसद गरिमा शाह, एमाले वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारी, टीकापुर नगरपालिका पूर्वप्रमुख रत्नप्रसाद सञ्जाल, उपप्रमुख लालबहादुर चौधरी, एमालेका टीकापुर नगरपालिका प्रमुख पदका उम्मेदवार तपेन्द्र रावल, उपप्रमुख पदका उम्मेदवार कमला केसी, जानकीनगर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जगत चौधरीले एमाले सबै समुदायलाई मिलाएर लैजाने भएकाले एमालेलाई जिताउनु आग्रह गर्नुभयो ।

चुनावी सभामा चर्चित गायक बद्री पँगेनी र प्रिया भण्डारीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्