Logo

‘गीरिजाबाबू भन्नुहुन्थ्यो, नेपाल तपाईले मात्रै बचाउन सक्नुहुन्छ’ : प्रचण्ड



असार ७, गाइघाट । उदयपुरको गाइघाटमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस नेता गीरिजाप्रसाद कोइरालाले नेपाल तपाईले मात्रै बचाउन सक्नुहुन्छ भनेको कुरा स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘गीरिजाबाबू अन्तिम अवस्थामा हुनुहुन्थ्यो, म उहाँलाई भेट्न अस्पताल गएँ, राम्रोसँग बोल्न सक्ने अवस्था पनि थिएन । गीरिजाबाबूले भन्नुभयो, प्रचण्डजी अब म धेरै दिन रहँदिन, नेपाल बचाउन सक्ने नेता अरु कोही देखेको छैन, तपाई नै हो । अब नेपालको जिम्मा तपाईकै काँधमा छ ।

सत्तामा पुग्न पटकपटक भद्र सहमति गर्ने र लागु गर्ने बेला तोड्ने कुसंस्कार रहेको स्मरण गर्दै प्रचण्डले भन्नुभयो, ‘म सुन्छु, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबीच पनि भद्र सहमति भएको थियो । सहमतिको कागज बनाएर बेनीबहादुर कार्कीको घरको दराजमा राखियो, सहमति पालना गर्ने बेला भट्टराईले सहमति त तोड्नका लागि पो गरेको भन्नुभएछ, अनि तोडियो । संविधान बन्ने बेला कांग्रेस, एमाले, माओवादी र फोरम लोकतान्त्रिक बीच पनि भद्र सहमति भयो । कांग्रेसलाई राष्ट्रपति, एमालेलाई प्रधानमन्त्री, माओवादीलाई संविधान । संविधान बनेपछि प्रधानमन्त्रीमा उम्मेदवारी दिएर सुशीलजीले भद्र सहमति तोड्नु भयो । गत साल पनि केपी ओलीजी र मबीच भद्र सहमति भएको थियो । झलनाथ, माधव नेपाल, बामदेवजी त्यसको साक्षी हुनुहुन्थ्यो । तर, ओलीले पनि त्यो सहमति तोड्नुभयो । म प्रधानमन्त्री बन्ने बेला पनि भद्र सहमति भयो । तर, मैले सहमतिको अक्षरशः पालना गरें । माओवादीका लागि बेइमानी डरलाग्दो कुरा हो, हामी सत्ताका लागि राजनीतिक बेइमानी गर्न चाहँदैनौं र गर्दैनौं ।’

कार्यक्रममा प्रचण्डले उदयपुर सिमेन्ट उद्योगको स्वामित्व जनतालाई हस्तान्तरण गर्न पहल गरिने बताउनु भयो । सभामा माओवादी केन्द्रका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार किरण राई र उपमेयरका उम्मेदवार गीता खड्का (कार्की) ले नगरको विकासबारे आफ्नो धारणा राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्