Logo

सुदुरपश्चिमको लोडसेडिङ अन्त्यबारे अध्यक्ष प्रचण्डद्वारा कुलमानसँग छलफल



काठमाडौं, १० असार। सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुग्नुभएका अध्यक्ष क. प्रचण्डलाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए । स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गर्नुभएको थियो ।

शनिबार बिहान धनगढीबाट काठमाडौं आउनुभएका अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई आफू काठमाडौं आइपुग्दा लाजिम्पाट आउनु आग्रह गर्नुभएको थियो । काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्