Logo

प्रधानमन्त्री देउवामाथि ओलीको व्यंग्य : रहर भए आफैं उम्मेदवार भएको भए हुन्थ्यो



काठमाडौं, १२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेनिर्वाचन आयोग, निर्वाचनमा खटाइने कर्मचारी र सरकार जनताको बेतनबाट चल्नु पर्ने साझा संयन्त्र भएकाले त्यो कसैको पक्षमा पनि दुरुपयोग हुन नहुने बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगबाट निर्वाचनको निश्पक्षता, गरिमा र स्वच्छता बाहेक आफ्नो पार्टीले कुनै सहुलियत नखोजेको पनि वताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘स्वच्छ, निश्पक्ष, स्वतन्त्र निर्वाचनका लागि सहयोग पुर्याउनु सबैको दायित्व हो, सबैभन्दा बढी दायित्व सरकारको हो, यतिवेला निर्वाचन आयोगले आफू छु भनेर भन्ने भन्दा पनि मैदानमा मैदानमा मर्यादा राख्नेगरी प्रस्तुत भएको एमाले हेर्न चाहन्छ । कसैले प्रश्न उठाउनेगरी प्रस्तुत नहोस् भन्ने चाहन्छ । त्यसका लागि एमाले निर्वाचन आयोगलाई सहयोग गर्न तयार छ ।’

प्रधानमन्त्री स्वयं हप्तौंसम्म चुनाव प्रचारमा खेटेर र राजदूत समेत भोट माग्न हिंडेर सरकार र सत्तासीन पक्षबाट निर्वाचनको स्वच्छतालाई दुषित बनाइएको ओलीको आरोप थियो ।

सत्तारुढ दल खासगरी प्रधानमन्त्री शेरबहादुर विरुद्धमा आक्रमक रुपमा प्रस्तुत भएका ओलीले भने,‘विदेशमा राष्ट्रको प्रतिनिधित्व गर्ने राजदूत भोट माग्न हिंड्नुको साटो मित्रराष्ट्रसँग राम्रो सम्बन्ध बनाउन लागेको भए हुन्थ्यो, प्रधानमन्त्रीले रहर भए आफैं उम्मेदवार भएको भए हुन्थ्यो यसरी राज्यको स्रोत साधन एउटा पार्टीको पक्षमा खटाउन आफैं नकुदेको भए हुन्थ्यो, जनतामा रहेको सार्वभौमसत्ता स्वच्छ रुपमा प्रकट हुन दिउँ, लोकतन्त्रको गरिमा बचाउँ भन्ने हामी चाहन्छौं ।’

ओलीले राजनीतिका नाममा चलाइएका हिंसात्मक अपराधको सञ्चालक सरकार रहेकोमा पनि आशंका गरे । ‘धरानमा हाम्रो उम्मेदवारका घरमा बम बिष्फोट, बुटवलमा म बसेकै मञ्चको पछाडि बम राखियो’ ओलीले भने, ‘यसमा देखिएका पक्ष मात्रै सामेल छन् कि भित्र कसैले चलाइरहेको छ ? सरकार यस विषयमा किन केही बोल्दैन ?’ सत्तासीन कांग्रेसले एमाले माथि गरेको आक्रमणलाई दुईपक्षीय झडपका रुपमा प्रस्तुत गर्ने सञ्चार माध्यमको शब्द प्रयोगप्रति पनि ओलीले ब्यङ्ग्य गरे ।

उनले एमालेका उम्मेदवारमाथि आक्रमण, धरपकड र कुटपीट गर्ने काम बन्द गर्न सरकारलाई चेतावनी दिए । ओलीले भने, ‘दोलखामा आफ्नो परिवारको सदस्यलाई मार्ने ज्यानमारा आफैंले समातेर प्रहरीलाई बुझाउँदा उल्टै पीडित परिवारमाथि मुद्दा हाल्ने काम भएको छ, यो पिनोसेले गर्ने भन्दा फरक ब्यवहार हो ?’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot