Logo

साउदीमा रहेका गोठाला आधारभूत अधिकारबाट वञ्चित



काठमाडौं १६ असार । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ ।

कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । नीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको समितिका अध्यक्ष डा. अलिविन समैखा अल मर्रीले बताए ।

साउदीले जुन ५ गतेबाट कतारसँग कूटनीतिक सम्बन्ध विच्छेदसँगै नाकाबन्दी गरेपछि कतारी नागरिकलाई साउदी जान रोक लगाएको छ । साउदीमा भएका कतारीहरू आफ्नो मुलुक फर्किसकेका छन् । ‘साउदीको कूटनीतिक विच्छेद र नाकाबन्दीपछि साउदीमा रहेका धेरै आप्रवासी कामदार अलपत्र छन्,’ बुधबार कतारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरूलाई कतारमा आउन नदिइएको छैन ।’

कतारमा ऊँट र बाख्रा पालन तथा खेतीपाती गर्न ठाउँ निकै कम छ । कतारी नागरिकको साउदीमा खेतीपाती, ऊँट, भेडाबाख्राको गोठ छ जसमा कतार पुगेका कामदारलाई उनीहरूले साउदीमा लिएर जाने गरेका छन् ।

साउदीको अल होफुफबाट कतार आएका अर्जुन राईले धेरै नेपाली साउदी भरुभुमिमा अलपत्र परेको बताए । ती क्षेत्रमा कार्यरत नेपालीको दूतावाससमक्ष सम्पर्क हुन सकेको छैन । कतार र साउदीस्थित नेपाली दूतावासले साउदीको भरुभूमिमा अलपत्र परेका गोठाला र किसान सम्पर्कमा नआएको जनाएको छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्