Logo

स्वास्थ्य शिविरबाट सयौं महिला लाभान्वित



कञ्चनपुर (सप्तरी), १६ असार । गरिबीका कारण वर्षांैदेखि रोगव्याधि लुकाएर राख्न बाध्य तिलाठी गाउँका महिला बिहीबार गाउँमै आइपुगेका चिकित्सकसँग निःशुल्क स्वास्थ्य उपचार सेवा पाएर हर्षित भएका छन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण संसदीय समितिकी सभापति रञ्जु झाले गरिबीका कारण स्वास्थ्य उपचार गराउनबाट वञ्चित महिलालाई लक्षित गरी संसदीय विकास कोषमार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदिएपछि उनीहरु हर्षित भएका हुन् । विशेषगरी शिविरमा आङ खस्ने, प्रजनन् तथा पाठेघरको समस्याबाट पीडित महिलाको सङ्ख्या उल्लेखनीय देखिन्थ्यो ।

पीडित महिलाले गाउँमै आइपुगेका चिकित्ससँग खुलेर स्वास्थ्य समस्या राखेका थिए । शिविरमा दुईजना महिलालाई शल्यक्रियाका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

शिविरबाट २३७ महिलाले विभिन्न रोग सम्बन्धी निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गरेका छन् । अञ्चल अस्पतालका प्रमुख डा दिलीप साह, डा उषा देव, डा वीरेन्द्र यादवलगायत ११ सदस्यीय चिकित्सकीय टोली उपचारमा संलग्न हुनुहुन्थ्यो ।

शिविरमा दुई लाख २५ हजार मूल्य बराबरको औषधिसमेत बिरामीलाई निःशुल्क वितरण गरिएको थियो । संसदीय समितिकी सभापति झाले गरिबीका कारण उपचार गराउनबाट वञ्चित ग्रामीण भेगका महिलालाई सजिलो होस् भनेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । रासस

 



प्रतिक्रिया दिनुहोस्