Logo

राजपा नेपाल सरकारबाट बाहिरिए पनि केही फरक पर्दैन् : टोपबहादुर रायमाझी, उपनेता–नेकपा माओवादी केन्द्र



सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले दोस्रो चरणको निर्वाचनमा करिब ३० प्रतिशत स्थानमा विजय हाँसिल गर्ने उद्वघोष गरेका छन् । त्यस्तै उनले तेस्रो चरणको निर्वाचनमा राजपा नेपाल सहभागी नभएपनि चुनाव हुने दाबी गरे । उनले राजपा नेपाल सरकार बाट बाहिरिएपनि वर्तमान सरकारलाई केही फरक नपर्ने दाबी गरेका छन् । निर्वाचनको पछिल्लो मतपरिणाम, संविधान संशोधन र तेस्रो चरणको निर्वाचनको तयारीबारे पत्रकार ऋषि धमलाले नेता रायमाझीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

पाँच नम्बरमा माओवादीको स्थीति के हँुदैछ ?

स्थिति राम्रो छ । दोस्रो चरणको संविधान सभामा हाम्रो पार्टीले १२ प्रतिशत मत ल्याएको थियो । स्थानीय तहको पहिलो चरणमा १६ प्रतिशत मत ल्याएको थियो । अब मुलुकभरि २५ देखि ३० प्रतिशत मत आउँछ ।

काँग्रेस र एमालेको सामु यति धेरै प्रतिशत मत ल्याउन सम्भव छ ?

माओवादी पनि अघि बढ्दै छ ।

माओवादी केन्द्रको जनमत कमजोर देखियो नि ?

पाँच नम्बरमा माओवादी कमजोर छैन ।

तपाईको गृहजिल्ला अर्घाखाँचीमा के हुन्छ ? तपाईको क्षेत्र हो नि ?

अर्घाखाँचीमा सम्मानजनक जित हुन्छ ।

अर्घाखाँचिमा कति वटा स्थानीय तहमा जित्नु हुन्छ ?

६ वटा स्थानीय निकायमा हामीले जित्छौ ।

तालमेल पनि गर्नु भएको छ नि ?

निर्वाचनमा काँग्रेस, एमाले सबै पार्टीसँग तामेल भएको छ । काँग्रेस भन्दा एमालेसँग कम छ । एमालेसँग अलि बढि नै दम्भ देखा परेको स्थितिमा हामीले काँग्रेससँग अलि बढि सहकार्य गरेका हौं ।

३२४ स्थान मध्येका कुनै महानगरपालिका र नगरमा माओवादी केन्द्रको अग्रता छैन् नि ?

मैले अघि पनि भनें हामी देशभरि २५ देखि ३० प्रतिशत मत ल्याउँछौँ । काँग्रेस नै पहिलो हुन्छ भन्ने मैले बुझेको छु । एमाले दोस्रो र हाम्रो पार्टी तेस्रो हुन्छ भन्ने मेरो अड्कल छ ।

संविधान संशोधनमा तपाईको पछिल्लो बिचार के छ ?

संशोधनको लागि दुई तिहाई चाहिन्छ । संशोधनप्रति एमालेको असहमति छ । संविधान संशोधन नभईकन राजपा निर्वाचनमा नआउने कुरा हुँदैन । अहिलेको स्थिति हेर्दा हुन्छ । आज राजपा संविधान कार्यान्वयनको पक्षमा छ नि ।

कुनै ठाउँमा २ मत मात्रै खसेको छ नि ? त्यो असर होईन ?

कुनैमा कम कुनैमा बढि भैरहन्छ । सकेसम्म निर्वाचनमा रापजपाले मन खोलेर भाग लिदा राम्रो हुन्छ। संशोधनको पक्षमा प्रयास पनि गर्नुपर्छ । सरकार चलाउनलाई संखया पुगेपनि सशोधनको लागि अपुग छ ।

सबै पार्टीहरूलाई निर्वाचनमा भाग लिने वातावरण सिर्जना त गर्नुपर्यो नि ?

कोसिश गर्ने हो । यही गछौँ भन्ने हो नि ।

किन गछौँ भनेर नगर्ने ? राजपासँग किन सम्झौता गर्नु भयो ?

कोसिश त गरेकै हो नि । त्यो कुरा राजपाका नेतालाई थाहा छ ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ भन्न थालेको छ नि?

त्यो उहाँहरूलाई अधिकार छ । पहिलेपनि यस्तो भएको थियो ।

उसो भए राजपा सरकारभन्दा बाहिर गएपनि केही फरक पर्दैन ?

सरकार चलाउन काँग्रेस र माओवादी एक ठाउँमा मिलेर बस्ने हो, उहाँहरु बाहिर जाँदा केही फरक पर्दैन । तोकिएको समयमा निर्वाचन हुन्छ ।

राजपा नआएको खण्डमा पनि दुई नम्बरमा निर्वाचन हुन्छ ?

हुन्छ । अरु सबै प्रदेशमा निर्वाचन भैसकेको अवस्थामा दुई नम्बरमा पनि कुनैपनि हालतमा निर्वाचन गर्नुपर्छ ।

उसो भए तोकिएकै मितिमा प्रदेश र केन्द्रीय संसदको निर्वाचन सम्पन्न हुन्छ ?

हुन्छ।

प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्न सरकार लागि परेको हो ?

हो । खर्च कम हुन्छ । हामीसँग समय पनि धेरै छैन् । सरकारले दुई चरणका निर्वाचन गरिसकेको छ । सरकार बाँकि निर्वाचन गर्न तयार छ । योग्य छ । सबै तहमा जनप्रतिनिधि छान्नुको विकल्प छैन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot