Logo

सेन्ट जेभियर्समा ‘सुर्तीजन्य पदार्थको असरबारे’ एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न



काठमाडौं, १६ असार । क्यान्सर काउन्सिल नेपालको आयोजनामा ललितपुरको सेन्ट जेभियर्स स्कुलमा एक दिवसीय ‘सुर्तिजन्य पदार्थको असर ः मुटु तथा क्यान्सर रोगको बारेमा जनचेतना तथा अन्तरक्रियात्मक’ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको एक हलमा भएको उक्त कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले दिनप्रतिदिन सुर्तीजन्य पदार्थको उपभोग बढ्नु डरलाग्दो विषय भएका उल्लेख गर्दै भने,‘अहिले सुर्तीजन्य पदार्थको सेवनमा ह्वात्तै वृद्धि भएको पाईएको छ, यो अत्यन्तै चिन्ताको विषय हो, यसबारेमा बेलैमा सचेत भईएन भने आगामी दिनमा ठूलो संख्यामा क्यान्सरजन्य रोगहरुको सामाना गर्नुपर्ने अवस्था आँउछ, यसबारेमा राज्यले अहिले नै विशेष ध्यान दिओस्।’

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा डाक्टर पौडेलले विकसित देशहरुमा जनचेतनामूलक कार्यक्रमले गर्दा मुटु तथा क्यान्सर रोगीहरुको संख्यामा धेरै नै कमी आएको उदाहरण पेश गरे ।

उनले भने,‘नेपालमा पनि अब विकसित देशहरुजस्तै जनचेतनामूलक कार्यक्रमहरुलाई व्यापक रुपमा गाउँगाउँमा पुर्याउनुपर्छ, अहिले क्यान्सर काउन्सिल नेपालले गरेको कार्यक्रम अत्यन्तै सराहनीय छ, आगामी दिनमा यसलाई अझै व्यापक रुपमा अघि बढाउनुपर्छ, निरन्तरता दिनुपर्छ।’

कार्यक्रममा विद्यालयका सहायक–प्रधानाध्यापक रमेश महर्जनले क्यान्सर काउन्सिल नेपालले युवा विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिदिएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए । महर्जनले आगामी दिनमा आफ्नो विद्यालयलेपनि यस्ता खाले सामाजिक उत्तरदायित्व निभाउने कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने प्रतिबद्वता जनाए ।

त्यस्तै काउन्सिलका अध्यक्ष कडरियाले नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रणको लागि विभिन्न संघसंघस्था, नागरिक समाज, विद्यालय र सरोकारवालहरुले विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए । उनले यस्ता खाले कार्यक्रमहरु हेर्दा सामान्य लागेपनि चेतना अभिवृद्धि गर्नु नै ठूलो उपलब्धि हुने स्पष्ट पारे ।

सुरुमा बालबालिकाहरु सूर्तीजन्य पदार्थ सेवन गरेपनि कालान्तरमा लागुऔषध सेवन गर्नेगरेको पाईएको उनको भनाई थियो । उनले थपे,‘जसले गर्दा समाजमा अपराधिक क्रियाकलापहरु समेत बढ्ने गरेको अध्ययनले बताएको छ, यसमा पनि हामी सबै सरोकारवालहरु बेलैमा सचेत हुन जरुरी छ।’ उनले आगामी दिनमा यस्ता खाले कार्यक्रमहरुलाई विद्यालयस्तरमा समेत व्यापक रुपमा सञ्चालन गर्ने प्रतिबद्वता जनाए ।

कार्यक्रममा उक्त विद्यालयका क्रमश ः कक्षा ८, ९ र १० का करिब ५ सय विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्