Logo

सिँचाइ आयोजना बाढीले बगाउँदा क्षति



फलेवास (पर्वत), १७ असार । निर्माणाधीन यहाँको एक सिँचाइ आयोजनामा बाढी आउँदा लाखौँको क्षति भएको छ ।

मोदी गाउँपालिका–६ स्थित निर्माणाधीन रतीखोला सिँचाइ आयोजनामा गत सोमबार राति आएको बाढीले लाखौँको सामान बगाएको हो । मङ्गलबार बाँधमा ढलान गर्ने तयारी अवस्थामा राखिएका सामान र अहिलेसम्मको काम बाढीले बगाउँदा रु १० लाख बढीको क्षति भएको ठेकेदार विशाल लामिछानेले जानकारी दिनुभयो ।

“मङ्गलबार ढलान गर्ने गरी रड, सिमेन्ट, तयारी गिट्टी, बालुवा, विभिन्न पाइप, वाटरप्रुफ प्लाइउडसहितका सामान बगाएको छ” बाढीले लाखाँै रुपैयाँको सामान बगाएपछि निरीक्षणका लागि पुग्नुभएका प्रजिअ राजेश पन्थीसमक्ष लामिछानेले भन्नुभयो । उहाँका अनुसार बाँधमा अहिलेसम्म भएको काम पनि बाढीले बगाएर पूर्णरुपमा क्षति पु¥याएको छ । “दुई दिन पानी नपरी बाढी नआएको भए लगभग बाँधको काम पूरा गर्ने थियौँ”, लामिछानेले भन्नुभयो,“अहिलेसम्मको काम र लाखौँको सामान बगाएको छ ।”

उहाँका अनुसार ढलानका लागि तयारी अवस्थामा राखिएको एक सय ५० बोरा सिमेन्ट, ३० क्विन्टल रड, एक सय थान ‘यु ज्याक टेका’, ६० प्रति दुई इन्चको २० फुटे एनएस पाइप, ५० घनमिटर गिट्टी र बालुवा, ४० प्रति १२ एमएमको ८४ को वाटरप्रुफ प्लाइबड, दुई क्वाइल जिआई वायरलगायत सामान खोलाको बाढीले बगाएको छ । “बाढी नआएको भए मङ्गलबार बाँधमा ढलानको काम सक्ने योजना थियो”, उहाँले भन्नुभयो ।

सिँचाइ विकास सब डिभिजन पर्वतका प्रमुख इ राजेन्द्र श्रेष्ठले रतीखोला सिँचाइ आयोजनाको चालु आवमा ३० प्रतिशत काम सम्पन्न हुने अनुमान गरिएको भए पनि बाढीले प्रगति निकै कम देखिने भएको बताउनुभयो । “छोटो समयमा पनि कामको राम्रो प्रगति भइरहेको थियो”, श्रेष्ठले भन्नुभयो ।

गत जेठमा ठेक्का लगाएर काम सुरु भएको सो आयोजना २०७५ जेठसम्म सम्पन्न गर्नुपर्ने हुन्छ । फेवा कन्ट्रक्सनले मूअकबाहेक रु ७४ लाखमा ठेक्का पाएको थियो । झन्डै ३० प्रतिशत छाडेर ठेक्का लिएको फेवा कन्ट्रक्सन लाखौँ रुपैयाँको सामान र अहिलेसम्मको काम बाढीले बगाएपछि चिन्तित भएको छ । प्रजिअ पन्थीले बाढीले बगाएको सिँचाइ आयोजनाको मङ्गलबार निरीक्षण गर्नुभएको थियो । यो मोदी गाउँपालिकाकै महत्वपूर्ण सिँचाइ आयोजना हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot