Logo

असोज २ गते अघि नै संशोधन प्रस्ताव पारित गराउन पहल गर्छौं : केसी



काठमाडौं, १९ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले असोज २ गते हुने प्रदेश नम्बर २ को तेस्रो चरणको स्थानीय तहको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्ने तयारीमा आफूहरु जुटेको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले संविधान संशोधन प्रस्ताव पारित गराउने पक्षमा आफ्नो पार्टी र वर्तमान सरकार गम्भिर भएर लागिपरिरहेको बताएका हुन् । उनले भने,‘हामीसँग अहिले दुई तिहाई छैन, दुई तिहाई पुर्याउनको लागि हाम्रो पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाजी अहिले गम्भिर भएर लागिरहनुभएको छ, कांग्रेसले सहजीकरणको भूमिका निर्वाह गरिरहेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले राजपालाई स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा सहभागी गराउनको लागि लाख कोशिस गरिएको भएपनि उनीहरु निर्वाचनमा सहभागी नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले थपे,‘अब हुने तेस्रो चरणको निर्वाचनमा उहाँहरु सहभागी हुनुपर्छ, हामी संविधान संशोधन गर्नको लागि गम्भिर भएर लागिपरिरहेका छौं।’

नेता केसीले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुनुको प्रमुख कारण नै पार्टीभित्रको भागबण्डाको राजनीतिक प्रभाव रहेको स्पष्ट पारे । उनले भने,‘पार्टीभित्र भागबण्डा लादिएको छ, केन्द्रिय तहको यस्तो गुटबन्दी स्थानीय तहसम्म पुगेको देखियो, त्यस्तै निर्वाचनमा घात तथा अन्र्तघातहरु समेत भए।’ उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई पार्टी सभापति भएको नाताले शेरबहादुर देउवाले गम्भिरताको रुपमा लिनुपर्ने र साथसाथै समग्रमा सबैले समिक्षा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले अबको निर्वाचनमा कसलाई उम्मेद्धवार बनाउने वा नबनाउने भनेर निर्णय गर्नको लागि निश्पक्ष ढंगले एक कमिटी नै गठन गर्नुपर्ने सुझाव अघि सारे । ‘कसको लोकप्रियता कति छ, कसले संगठन सुदृढिकरणको लागि काम गरेको छ, जनतामा कति भिजेको छ भन्नेजस्ता गोप्य रिपोर्टहरु लिएरमात्रै प्रादेशिक र केन्द्रिय संसदको चुनावमा उठाउनुपर्छ, उनले थपे,‘मेरो मान्छे परेन, वा तेरो मान्छे परेन भनेर कसैले पनि चिन्ता लिनुहुँदैन्।’

उनले पछिल्लो समय पार्टीलाई संस्थागत र विधिसम्मत् तरिकाले चलाउने कुरामा केही गम्भिर त्रुटिहरु भएको समेत औंल्याए । केसीले विगतमा भएका कमीमजोरीहरुलाई सच्याएर पार्टी र जनतावीचको तादम्यता टुटाउन नहुने समेत बताए ।

नेता केसीले प्रधानमन्त्री देउवा चुनाव लगायत अन्य महत्व्पूर्ण काममा व्यस्त भएकोले समय अभावका कारण मन्त्रिमण्डल विस्तार र सचिवालय सदस्यहरु नियुक्त गर्न नसकेको स्पष्ट पारे । उनले भने,‘अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ, यसमा शंका नगरे हुन्छ।’

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot