Logo

चिकित्सा शिक्षामा मेरिट लत्याउँदै मनपरी भर्ना गरिएको भन्दै चिकित्सक समाजको विरोध



काठमाडौं, १९ असार । चिकित्सक समाज नेपाल (डि.एस.ओ.एन)ले स्वास्थ्य क्षेत्रमा देखिएको व्याप्त बेतिथी अन्त्यको लागि सरकारसँग माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा समाजले सोमबार पत्रकार सम्मेलन गरेर पछिल्लो समयमा विश्वविद्यालयको निर्देशनविपरित मनोमानी ढंगले त्रि.वी. अन्तर्गतका विभिन्न आंगिक निजी मेडिकल कलेजले भर्ना लिएकोमा आपत्ति जनाउँदै यस्तो माग गरेको हो ।

समाजका अध्यक्ष कालु सिंह खत्रीले मोटो रकम लिएर स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रलाई पैसामा बिक्रि गर्न खोजेको अवस्थामा वर्तमान सरकार कानमा तेल हालेर सुतेको आरोप लगाए ।

उनले भने,‘यो स्वास्थ्य क्षेत्र मानव जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो, हामी सबैले यस क्षेत्रलाई सकेसम्म स्वच्छ बनाउनुपर्ने हो, तर यहाँ योग्यता, स्तर र क्षमता भन्दापनि पैसाको बल र शक्तिकै भरमा कुरुप बनाउनेजस्तो गैर–जिम्मेवारपूर्ण काम गरिँदैछ, यसले न त हामीलाई फाईदा हुन्छ, न त भोलिका सन्ततिलाई नै।’

उनले अघि थपे,‘नेश्नल मेडिकल कलेज र यूनिर्भसल कलेजमा अध्यधिक रकम लिएर कम योग्य बिधार्थी भर्ना गरिएको छ, गत सालमा यस्तै भएको थियो, यो सालमा पनि उस्तै व्यथा दोहोरिएको छ, डाक्टर गोविन्द केसीले उठाउनु भएका मागहरू सम्बोधन गर्ने क्रममा यस वर्ष त्रि.वि. प्राज्ञिक परिषदले चिकित्साशास्त्र तर्फको स्नात्तोकोतर तहमा भर्नाका लागि निजी कलेजहरूमा ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो तर नीजि कलेजहरूले त्यसको तेब्बर चौबर रकम लिएर भर्ना गर्ने काम गरिएको छ, यस्तो कानुनविपरित काम गर्ने जो कोहीलाई कडा कारवाही गर्नुपर्छ, हामी कुनैपनि हालतमा यस्ता कुकर्मका बिरुद्धमा उभिनेछौँ।’

संस्थाका महासचिव डा. तोसिमा कार्कीले विश्वविद्यालयको नियम र सरकारको मातहतभन्दा बाहिर रहेर निजी कलेजले कुनै काम गर्छ भने त्यो अपराध हुने दाबी गरिन ।

उनले भनिन “सरकार र त्रिविको नियमभन्दा बाहिर रहेर कुनैपनि काम गर्न पाईदैन, हामी त्यसको पर्दाफाँस गर्न पछि पर्ने छैनौ, हामीले समाजका बारेमा बोल्दा कसैले टाउको दुखाउँछ भने त्यो कुनै नौलो विषय हुनेछैन।’

उनले अघि थपिन्‘अदालत र त्रिविका आदेश र निर्देशन मान्दिन भन्ने त्यस्ता निजी कलेजहरूको सम्बन्धन खारेज हुनुपर्छ, पटक–पटक डीन कार्यालय तथा नेपाल मेडिकल काउन्सिलले दिएको निर्देशनलाई लत्याएर नीजी कलेजहरूले चिकित्सा क्षेत्रलाई पैसाको मोलमोलाईमा तस्करी गरिरहेका छन्, यसले सिँगो समाजको स्वास्थ्यमाथि गम्भिर खेलवाड हुन्छ यस्तो कार्य हामीलाई स्विकार्य छैन्।’

कार्यक्रममा चिकित्सा क्षेत्रका विभिन्न १० संघसंस्थाहरुले समाजले अघि सारेका माँगहरुमा ऐक्यबद्धता जनाएका थिए ।साथै, समाजले युनिभर्सल मेडिकल भैरवाले एन.एम.सीद्धारा स्विकृति नदिएको डर्माटोलोजी र अफ्थ्याल्मोलोजीमा अनधिृकत भर्ना लिएकोमा आपत्ति जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot