Logo

दल दर्ता गर्ने निर्णय चुनावका लागि होइन : राजकिशोर यादव



काठमाडौं, २० असार । छ दल मिलेर एक भएको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ ।

स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण वहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो । राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

दल दर्ता गर्ने निर्णयपछि राजपा प्रदेश नम्बर २ को चुनावमा भाग लिने संकेतका रुपमा बुझिएको छ । यद्यपी निर्वाचनमा भाग लिने विषयमा राजपाका नेताले खुलेर कुरा गरेका छैनन् ।

राजपाका एक नेता राजकिशोर यादवले दल दर्ता र चुनावमा भाग लिने कुरा फरक फरक पाटो भएको बताएका छन् । यादवले दलिय वैधानिकताका लागि मात्रै तत्काल निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरिएको बताएका छन् । चुनावमा भाग लिने विषयमा खुलेर धारणा नराखे पनि आफुहरु निर्वाचन विरोधी शक्ति नभएको यादवले प्रष्ट पारेका छन् ।

राजपाले स्पष्टसँग संविधानलाई अपूरो मानेकाले संविधान संशोधन नभएसम्म स्विकार गर्न नसकिने तर्क यादवले गरेका छन् । यथास्थितीमा अहिलेको संविधानलाई वैधता दिने काम राजपाले केही पनि नगर्ने बताउँदै यादवले दल दर्ताको विषय सामान्य भएको जिकिर गरेका छन् ।

यसैबिच दल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रुप दिन आज राजपाको अर्को बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्