Logo

प्रदेश र संसदको चुनाव एकै चरणमा हुनै सक्दैन, अयोधिप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त



प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी निर्वाचनको लागि आयोगले सरकारसँग आवश्यक कानून तथा ऐनहरु माँगिरहेको बताएका छन् । त्यस्तै, निर्वाचन क्षेत्र निर्धारण पनि समयमै गर्नुपर्ने भएकोले आयोग पूर्ण रुपमले निर्वाचको तयारीमा होमिएको उनको भनाई थियो। आगामी निर्वाचनको तयारी लगायका विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले यादसँग गरेको कुराकानीको सम्पादित अंश :

आगामी निर्वाचनका लागि केके तयारी भइरहेको छ ?

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक ऐन कानुन निर्माणका लागि सरकारसँग माग गरिरहेका छौँ । सरकारले निर्वाचनका लागि आवश्यक कुराको पहिचान गरेर छिटोभन्दा छिटो काम गर्नु पर्छ । हामीले त्यसका लागि अनुरोध गरिरहेका छौँ ।

निर्वाचन क्षेत्र निर्धारण समेत भएको छैन । निर्वाचन आयोगले साउन १५ गतेभित्र निर्वाचन क्षोत्र निर्धारण गर्न भनेको छ । यहाँहरुले भनेको समयभित्र काम होला ?

हामीले सरकारलाई आग्रह गर्ने हो । निर्वाचन सरकारको पनि प्राथमिकताको विषय भएकाले निर्वाचन क्षेत्र निर्धारण समयमा नै हुन्छ भन्ने आशा गरेका छौँ । समय कम छ, तर इच्छाशक्ति भयो भने काम हुन सक्छ ।

प्रतिनिधिसभा निर्वाचन मंसिरभित्र गर्नुपर्नेछ । त्यसका लागि के/

के आवश्यकता छ ?
निर्वाचन क्षेत्र निर्धारण, ऐन, कानुन अति आवश्यक विषय हो । सरकारले मिति समेत तोकेर सोही अनुसार काम गर्नुपर्छ । यसका लागि आयोगले निर्णय गरेर अनुरोध पत्र पठाएको छ ।

निर्वाचन आयोगले प्रदेश र केन्द्रिय संसदको चुनाव एकै चरणमा गराउन सक्छ ?

प्रदेश र संसदको चुनाव छुट्टाछुट्ट गराउनुपर्छ ।

सरकारले एकै चरणमा चुनाव गराउने गृहकार्य गरेको छ नि ?

सरकारले भनेर हुँदैन । दुवै चुनाव एकैचोटी हुन सक्दैन ।

एकैपटक चुनाव गर्नका लागि निर्वाचन आयोगलाई के/के समस्या छ ?

धेरै समस्या छ । व्यवस्थापकीय दृष्टीकोणबाट समस्या छ । प्राविधिक र कानुनी दृष्टीकोणबाट पनि समस्या छ । प्रत्यक्ष र समानुपातिक प्रणाली एउटै मतपेटिकाबाट गर्ने व्यवस्था गर्न सकियो भने चाँही अध्ययन गरेर निर्णय गर्न सकिन्छ । अहिलेको अवस्थामा चाँही एकैपटक प्रदेश र केन्द्रिय संसदका चुनाव गर्न सकिदैन । निर्वाचनको प्राविधिक विषयमा सरकारले भनेर मात्रै हुँदैन ।

असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुन्छ ?

त्यो त मिति घोषणा भइसकेको छ । अरु केही समस्या छैन । हामी चुनाव गराउन सक्छौँ । यसमा शंका गर्ने ठाउँ छैन ।

राष्ट्रिय जनता पार्टीले चुनाव चिन्ह छाता मागेको छ । दिन सक्नुहन्छ ?

यो विषयमा निर्वाचन आयोगले प्रष्ट धारणा राखिसकेको छ । स्थानीय तहको निर्वाचनका लागि चुनाव चिन्ह दिन सकिदैन । हामीेले नियम अनुसार काम गर्नुपर्छ । राजपाले माग्यो भन्दैमा आयोगले दिन मिल्दैन । यो कुराको बारेमा अहिले बसह नगरौँ । हामी कानुनभित्र रहेर चुनावका लागि गर्नसक्ने सम्मको सहजिकरण गर्न सक्छौँ ।

अन्त्यमा, मत परिणामा आउन किन ढिला भइरेको छ ?

ढिला भएको छैन । अबको २ दिनभित्र सबै मतपरिणामा सार्वजनिक हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot