Logo

जैविक मार्गमा गाडी रोक्ने चालकलाई जरिवाना



रत्ननगर (चितवन), २१ असार । संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र चितवनको टिकौलीस्थित जैविकमार्गमा जथाभावी सवारीसाधन रोक्ने चालक अब कारबाहीमा पर्ने भएका छन् ।

जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको सुरक्षामा हेल्चेक्र्याई गर्नेलाई जरिवानादेखि मुद्दा चलाउनेसम्मको कारबाही गर्ने निर्णय भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

राससमा ‘जैविकमार्गको सुरक्षा चुनौतीपूर्ण’ भन्ने शीर्षकमा समाचार आएपछि निकुञ्जले पोस्ट स्थापना गरी संयुक्त गस्ती गरेर त्यहाँ जथाभाबी गर्ने चालकलाई कारबाही गरिने भएको हो ।

निकुञ्ज, जिल्ला वन कार्यालय, ससस्त्र वन रक्षक तालिम केन्द्र तथा नेपाली सेनाबाट सो क्षेत्रमा संयुक्त गस्ती गरी सुरक्षामा कडाइ गरिने मङ्गलबार निर्णय भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

हेल्चक्र्याई गरेर गाडी रोकेमा मोटरसाइकललाई रु १००, साना सवारीलाई ५०० र ठूला सवारी साधनलाई रु एक हजार जरिवाना गरिने पाठकको भनाइ छ । साउन १ गतेदेखिनै सुरक्षा टोली परिचालन गरेर कारबाही थालिने छ । त्यसअघि भने प्रचारात्मक कार्यक्रम सञ्चालन गरेर चालकलाई जानकारी दिइने निकुञ्जको भनाइ छ ।

यहाँ सञ्चालित सीसी क्यामरा मर्मत गरी गस्ती प्रभावकारी बनाउन सशस्त्र वन रक्षक तालिम केन्द्रलाई निर्देशनसमेत दिइएको छ ।

यही असार २३ गतेबाट ‘संरक्षणका लागि एक मिनेट’ अभियानसमेत शुरु गरेर चालकलाई सचेत गराइने निकुञ्जले जनाएको छ । टिकौलीसँग जोडिएका सामुदायिक वनमा सरसफाइ अभियान चलाउन समेत आग्रह गरिएको पाठकले बताउनुभयो ।

यहाँको जैविक मार्गमा बाघ, गैँंडा, चित्तल, जरायो, मृगलगायत वन्यजन्तु राजमार्गबाटै ओहरदोहर गर्छन् । गाडीले यस्ता वन्यजन्तुलाई किचेर भाग्ने गरेकाले सुरक्षामा कडाइ गर्न लागिएको हो ।

टिकौलीस्थित जैविकमार्गमा अस्थायी सुरक्षा पोस्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । निकुञ्ज र वन कार्यालयको समन्वयमा नेपाली सेना तथा सशस्त्र वन रक्षक समेतको सहभागितामा सडक गस्ती गर्नेगरी सुरक्षा पोस्ट निर्माण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्