Logo

मन्त्रीमण्डल आर्ईतबार विस्तार हुने, कुन दललाई कति वटा मन्त्रालय ?



काठमाडौं, २२ असार । मन्त्रिपरिषद विस्तार गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज गम्भिर छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुवीच यही आउने आईतबारभित्रै मन्त्रिमण्डल विस्तार गर्नेबारे कुराकानी भएको स्रोतले जनाएको छ । भेटपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी सुरु गरेको पनि उनी निकट उच्च स्रोतले जनायो ।

प्रधानमन्त्री देउवाले सपथ ग्रहणकै दिन कांग्रेसबाट तीन, माओवादीबाट तीन र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएर मतपरिणाम आउने क्रम जारी रहेको बेला सरकारलाई पूर्णता दिने विषयमा दुई नेताहरुवीच आज छलफल प्रारम्भ भएको हो ।

सत्ता साझेदार दल कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुन कुन दललाई कतिवटा मन्त्रालय दिने भन्नेबारेमा पनि आज छलफल भएको छ। यद्धपी उनीहरुवीच अझैपनि यसबारेमा टुँगो लागिसकेको छैन् ।

दुई नेतावीच भएको आजको सहमति अनुसार कांग्रेसले १२ वटा र माओवादी केन्द्रले १० वटा मन्त्रालय लिने, राप्रपालाई ४, फोरम लोकतान्त्रिक र संघीइ समाजवादी फोरमलाई ३÷३ वटा मन्त्रालय दिने र साना दल नेकपा संयुक्तलाइ १, कुमार खड्का नेतृत्वको अखण्ड नेपाललाई एक र प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीलाई एक मन्त्रालय दिने तयारी भएको छ ।

यता आफ्नो पार्टीभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हिजो नै देउवालाई मन्त्रीमण्डल विस्तारदेखि लिएर अन्य सरकार सञ्चालन कार्यविधि बनाउनको लागि माँग गरेको छ । पौडेल पक्षले आफूहरुलाई ५ वटा मन्त्रालय दिनुपर्ने माँग गरेको छ । तर देउवा भने ४ वटा मात्रै दिएर पौडेलको चित्त बुझाउने प्रयासमा छन् । त्यस्तै खुमबहादुर खड्का र कृष्ण सिटौला पक्षलाई १÷१ वटा मन्त्रालय दिएर बाँकी आफूसँग देउवाको तयारी रहेको छ ।

उता चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपप्रधानसहित चार मन्त्रालय पाएमात्रै सरकारमा आउने जनाएको छ। तर, प्रधानमन्त्री देउवाले भने राप्रपालाई ३ वटामात्रै मन्त्रालय दिने तयारी गरेका छन् । यदि तीन मन्त्रालयमात्रै पाएपनि राप्रपाबाट अध्यक्ष कमल थापाले नै नेतृत्व गरेर सरकारमा सहभागी जनाउने स्रोतको दाबी छ ।

यता संघीय समाजवादी फोरम नेपालले पनि सरकारमा सहभागी जनाउनको लागि आफूहरुलाई चार वटा मन्त्रालय दिनुपर्ने माँग गरेको छ। अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छुट्टाछुट्टै भेटवार्तामा आफू अहिले सरकारमा सहभागी नहुने बताएका थिए । तर उनले सरकारमा सहभागी हुन आग्रह गरिए कम्तीमा पनि चार वटा मन्त्रालय दिनुपर्ने माँग गरेका छन् ।

साना दलबाट भने यसअघिको सरकारमा मन्त्री भएकाहरु प्रेमबहादुर सिंह र कुमार खड्का नै दोहोरिने बुझिएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्