Logo

राजपाको अबको बाटो : दल दर्ता लगत्तै विभाजन



असार २३, काठमाण्डौँ
राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन् । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ । राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान निर्माण प्रक्रिया नै अवरुद्ध भएको छ ।
बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५–७ दिनबीच पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताएका थिए । अध्यक्ष ठाकुरको भनाइको सोझो अर्थ हो– दल दर्तासँगै पार्टी विभाजन ।
मंगलबार सुरु बैठक दल दर्ता प्रक्रिया अघि बढ्न नसकेपछि केही दिनका लागि भन्दै बुधबार स्थगित भएको छ । बुधबारको बैठकमा ठाकुरले विधानमा हस्ताक्षरका लागि केही दिनको समय दिएका थिए ।
नेता झाले विधानमा रामजनम तिवारी र गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान लिएका कारण दल दर्ता प्रक्रिया तथा पार्टी बैठकसमेत स्थगित हुन पुगेको स्रोतको दाबी छ । ठाकुरले भने राजपामा मधेसी मात्र होइन, बीपी, पुष्पलालदेखि मार्क्सवादीसम्मको विचार, आस्था राख्ने नेता रहेको उल्लेख गर्दै विधानको प्रस्तावनामा कुनै नेताको नाम उल्लेख नहुने धारणा बैठकमा राखेका थिए ।
झाले आफूले विदेशी शक्तिको दबाबमा नेपाल सद्भावना पार्टीलाई राजपामा विलय गरेको बताएका थिए ।
पहिलोपटक राजपालाई राष्ट्रिय पार्टीका रूपमा अघि बढाउन लागिएको धारणा राख्दै ठाकुरले झापादेखि कञ्चनपुरसम्मका १२ प्रतिशत थारू, ११ प्रतिशत मुस्लिम, ३९ प्रतिशत मधेसी र ३८ प्रतिशत पहाडी समुदायको एकता रहेकाले कुनै एक नेताको नाम विधानमा उल्लेख गर्न नहुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot