Logo

अस्पताल सुधार प्रक्रिया सुरु



भद्रपुर, २४ असार । अस्पताल सुधार कार्यक्रम अन्तर्गत भद्रपुरस्थित मेची अञ्चल अस्पतालको सुविधा सम्पन्न भवन बन्ने प्रक्रिया सुरु भएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गर्नुभएको स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत अञ्चल अस्पताललाई रु ३० करोड बराबरको तीन तले सुविधा सम्पन्न पक्की भवन बन्ने प्रक्रिया सुरु भएको हो ।

मेची अञ्चल अस्पताल विकास समितिको माग बमोजिम झापा क्षेत्र नं– ३ का सांसद कृष्णप्रसाद सिटौलाको पहलमा स्वास्थ्य मन्त्रालयले रु ३० करोडको लागतमा आधुनिक उपकरण जडान गर्न मिल्ने गरी जनमैत्री भवनको प्रस्तावसहित बोलपत्र आह्वान गरेको मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्नका लागि प्रयोगशाला, अभ्यास कक्ष तथा बिरामी उपचार सेवा प्रवाह गर्न मिल्ने गरी भवन निर्माणको प्रस्तावसहित बोलपत्र भइसकेको छ ।
अञ्चल अस्पतालमा आवश्यक दरबन्दी र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न लागिएको अस्पताल प्रशासनको भनाइ छ ।

अझै पनि केही दरबन्दी रिक्त रहेकाले मन्त्रालयमा माग गरिएको अस्पतालका प्रमुख डा पिताम्बर ठाकुरले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot