Logo

प्रचण्डको उद्धघोष : माओवादी नभए महिला, दलित, जनजातिहरु अपमानित भइरहन्थे



काठमाडौं,  २४ असार । पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी र जनयुद्ध नभएको भए महिला, दलित, जनजाति, मधेशी लगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति हुने बताउनु भएको छ ।

दलित अगुवा पदम् सुन्दासलाई बहराइनको राजदूतमा नियुक्त गरेकोमा अध्यक्ष क. प्रचण्डलाई अभिनन्दन गर्न परियार सेवा समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘पुरानो समाज र राजनीतिक दलहरु दलित, महिला, जनजाति, मधेशी लगायतका उत्पीडितहरुलाई मान्छे नै मान्दैनथे ।

माओवादीले उत्पीडितहरुको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध गरियो । माओवादीले जनयुद्ध नलडेको भए र उत्पीडितहरुको पक्षमा संघर्ष नगरेको भए क्षमता भएर पनि उनीहरु राज्यको नीति निर्माणको अधिकारबाट बिमूख हुन्थे । समाजमा यति ठूलो परिवर्तन आइसक्दा पनि अझै राज्य र राज्य संयन्त्र दलितहरुप्रति सकारात्मक हुन सकेको छैन ।’

अध्यक्ष प्रचण्डले आफू निरन्तर उत्पीडितहरुको पक्षमा रहेको बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘म निरन्तर उत्पीडितहरुको पक्षमा छु । म र मेरो पार्टीको निरन्तरको प्रयास र संघर्षपछि महिला नै राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख हुनुभएको छ । गणतन्त्र आएपछि संसदमा ठूलो संख्यामा उत्पीडित समुदायका प्रतिनिधिहरु आउनुभयो । अहिले पदम् सुन्दासजी राजदूत हुनुभएको छ । यो पनि माओवादी पार्टीको उत्पीडित जाति र समुदायप्रतिको प्रतिवद्दताको प्रतिफल नै हो ।’

कार्यक्रममा प्रचण्डले जनुयद्धमा दलितहरुको ठूलो संख्यमा बलिदानी नगरेको भए नेपालमा गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुने बताउनु भयो । परियार सेवा समाजका अगुवाहरुले नेपालमा गणतन्त्र स्थापना गर्न, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न, दलित लगायतका उत्पीडित जाति र समुदायलाई नीति निर्माणको तहमा लैजान विशेष भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा राजदूत पदम् सुन्दासलाई सम्मान गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्