Logo

संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा जनतामाझ लैजान्छौँ : दिलनाथ गिरी



राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निकायको चुनावमा कमजोर नतिजा हासिल गरेकोमा विपक्षी दल र विदेशी शक्तिले भ्रम फैलाएको आरोप लगाएको छ । आफ्नो पार्टीको मुद्दाका विषयमा जनतामाफ भ्रम फैलाइएको आरोप राप्रपाका नेता दिलनाथ गिरीले लगाएका हुन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सम्मानजनक स्थान पाए मात्रै सहभागि हुने बताएका छन् । गिरीसँग ऋषि धमलाले गरेको कुराकानी :

राष्ट्रिय प्रजातन्त्र पार्टी संविधान संशोधनका लागि तयार भएको हो ?
हाम्रो पार्टीले गरेको निर्णयलाई सार्वजनिक गरिसकेका छाँै । हामीले मुलुकको समग्र परिस्थितीलाई मध्येनजर गरेर संविधान संशोधनको पक्षमा निर्णय गरेका हाँै । संविधानले हिमाल, पहाड र तराईका जनताको अपेक्षा सम्बोधन गर्नुपर्छ भन्ने मान्यता हाम्रो पार्टीको छ ।

संविधान संशोधनको प्रस्ताव पारित भएपछि सरकारमा जाने हो ?
मुलुकको जटिल समस्या समाधानका लागि हामी तत्पर छौँ । तराई–मधेशको समस्या र संविधानको कार्यान्वयनको मुख्य पाटो निर्वाचनका लागि सरकारले प्रतिवद्धता व्यक्त गरेको छ । त्यसका लागि हामीले प्रधानमन्त्रीलाई मत दिएका हौँ । सबै समस्या समाधान गर्ने भनेको पनि सरकारमा बसेर नै हो ।

तपाईहरुले सरकारमा जानका लागि कतिवटा मन्त्रालय माग्नुभएको छ ?
सरकारमा सहभागि हुने विषयमा हामीले छलफल गरेका छौँ । मुल कुरो सरकारमा को कसरी सहभागि हुनेभन्दा पनि मुलुकको समस्या समाधानका लागि एकजुट हुने कुरा हो । समस्या समाधानका लागि प्रधानमन्त्रीले गरेका प्रतिवद्धता पूरा गराउन हाम्रो पार्टीले गर्ने योगदान मुख्य विषय हो ।

कतिवटा मन्त्रालय माग्नुभएको छ खुलाइदिनुस न ।
हामीले राजनीतिक दलहरुको सरकारमा हुने सहभागिताका आधारमा मन्त्रालय पाउने हो । एक किसिमको मापदण्ड बनाएर संख्याको दृष्टीकोणबाट उचित कदम चाल्छाँै । हामीले अहिले कतिवटा मन्त्रालय माग्यौँ भन्ने भन्दा पनि संसदमा उपस्थित संख्याको आधारमा मापदण्ड बनाएर मन्त्रालय बाँडफाँट गर्ने कुरा गरेका छाँै । यस विषयमा सहमति भइसकेको छ ।

कमल थापाकै नेतृत्वमा सरकारमा जाने तयारी गर्नुभएको हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापाकै नेतृत्वमा यहाँसम्म आइपुगेको हो । मुलुकको चौथो ठूलो दलको हैसियत बनेको छ । आगामी दिनमा पनि अगाडि बढ्नका लागि अध्यक्ष कमल थापाकै नेतृत्व आवश्यक छ । यद्यपी सरकारमा कसरी सहभागि हुने भन्ने औपचारिक निर्णय भइसकेको छैन ।

यहाँको दलले उपप्रधानमन्त्री पनि मागेको हो ?
उपप्रधानमन्त्री त हामीले माग्नै पर्दैन । यस विषयमा त हामीले मापदण्ड बनाएर कसले कति र कस्ता मन्त्रालय लिने भन्ने टुङ्गो लाउने सहमति गरेका छौँ ।

कस्तो मापदण्ड बनाउनुभएको छ ?
मापदण्ड बनिसकेको छैन । तर बनाउने भन्ने विषयमा सहमति भएको छ । नेपाली कांगेस, माओवादी केन्द्र र राप्रपाबिचमा सैद्धान्तिक सहमति भएको हो ।

अहिलेको मन्त्रीमण्डलमा ३ जनालाई उपप्रधानमन्त्री बनाइसकिएको छ । अब तपाईको पार्टीले पनि उपप्रधानमन्त्री दाबी ग¥यो भने त समस्या होला नि ?
हामी यसअघि पनि २ पटक उपप्रधानमन्त्री समेत लिएर सरकारमा सहभागि भइसक्यौँ । त्यसैले अपमानित भएर सरकारमा सहभागि हुन सकिदैन । उपप्रधानमन्त्री नै मुख्य कुरा होइन, तर सम्मानजनक रुपमा सरकारमा सहभागि गराउनुपर्छ भन्ने हाम्रो माग हो ।

अन्त्यमा, यसपटकको स्थानीय चुनावको नतिजालाई विश्लेषण गर्दा यहाँको पार्टीको सिद्धान्त कमजोर सावित भएको हो ?
हामीले त्यसरी बुझेका छैनौँ । हामीले जुन मुद्दा लिएर अगाडि बढेका थियौँ, त्यसलाई छायाँमा पार्नका लागि धेरै ठूला कसरत भइरहेका छन् । जनतामाझ दिग्भ्रमित बनाउने काम समेत गरियो । राप्रपाका नराम्रा कुराको प्रचार गरियो । यि सबै विषयलाई हामीले केन्द्रिय समितिमा छलफल गर्ने तयारी गरेका छौँ । कमीकमजोरीलाई सुधार गर्दै अघि बढेर जनतामाझ संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा लैजानेछाँै ।

ति मुद्दालाई त जनताले अस्विकार गरिसकेका छन् । ति मुद्दा हासिल गर्न अब कसरी सम्भव छ ?
प्रजातन्त्रमा विश्वास गर्ने हो भने कुनै पनि मुद्दा जनताले अस्विकार गरे भनेर विश्लेषण गर्न मिल्दैन । हामीले उठाएको मुद्दामा विपक्षी र विदेशी शक्तिले भ्रम फैलाएका हुन् । तर हामी अब संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा जनताको माझमा लैजान्छौँ । जनताको विश्वास जितेर हाम्रा मुद्दा स्थापित गराउन सक्छाँै ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot