Logo

खानेपानीको मुहानमै हानिकारक कोलिफर्म



नुवाकोट, २५ असार । नुवाकोटको विभिन्न स्थानका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक कोलिफर्म (दिशामा पाइने जिवाणु) भेटिएको छ ।

नेपाली हेल्थ अनलाइन पत्रिकाले विदुरमा शनिबार आयोजना गरेको ‘महामारी रोग र स्वास्थ्य सेवा’ विषयक अन्तक्र्रियामा स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य निरीक्षक राममणि घिमिरेले जिल्लाको मुख्य छ स्थानबाट लिएको नमूना परीक्षणमा सबै स्थानको पानीको मुहानमा कोलिफर्म भेटिएको जानकारी दिए ।

वर्षायाम सुरु भएसँगै पानीमा हुनसक्ने दूषित अवस्थाको अध्ययन गर्न रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेका बासिन्दाले उपभोग गर्दै आएको मुहानबाट सङ्कलन गरिएको पानीको नमूना परीक्षणमा सबै स्थानमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको स्वास्थ्य निरीक्षक घिमिरेले जानकारी दिए ।

“पानीमा कोलिफर्मको मात्रा १० भन्दा बढी पाइएपछि त्यसमा रहेका जीवाणु सक्रिय हुने भएकाले पिउन अयोग्य मानिने गरेको छ ।” स्वास्थ्य निरीक्षक घिमिरेले भने –“नमूनाका रुपमा लिइएको स्थानमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म पाइएकाले शुद्धिकरण गरेरमात्र खान आग्रह गर्न लागेका छौँ ।”

उपभोक्ता समितिमार्फत ठूलो समुदायमा वितरण भएको पानीको मुहानबाट लिएको नमूना परीक्षणमा अपेक्षाभन्दा धेरै मात्रामा कोलिफर्म देखिएकाले उपभोक्तालाई ब्लिचिङ पाउडर, पियुसको प्रयोग, ट्याङ्कीको सरसफाइ, उमालेर प्रयोग गर्नेलगायतको पानी स्वच्छ बनाउने विधि प्रयोग गर्न लागेको स्वास्थ्य निरीक्षक घिमिरेले बताए ।

पानीमा हुने दूषित र मनसुनको परिवर्तनले महामारी रोगको रुपमा झाडापखाला, टाइफाइड, कमलपित्त ‘जन्डिस’, रगतमासी, रुघाखोकीलगायतका रोग देखिन सक्ने भएकाले त्यसको नियन्त्रण गर्न स्वास्थ्य कार्यालय तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

वर्षायाममा फैलन सक्ने महामारी रोग र स्वास्थ्य सेवा नियन्त्रण गर्न समुदायमा गठन भएका ‘¥यापिट रेस्पोन्स टिम’लाई सक्रिय बनाउनुपर्ने नेपाली हेल्थ अनलाइन पत्रिकाका सम्पादक रामप्रसाद न्यौपानेले सुझाव दिए।

यस्तै, नेपाल पत्रकार महासङ्घ नुवाकोटका निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीले सञ्चारकर्मीले स्वास्थ्यसम्बन्धी सचेतना र जानकारीलाई प्राथमिकता दिँदै आए पनि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताललगायतका सरोकारवाला निकायबाट सूचना प्रवाह र जानकारी प्राप्तिमा सहयोग नभएको गुनासो गरे । रासस



प्रतिक्रिया दिनुहोस्