काठमाडौँ, २५ असार । आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न ल्याइएको ‘आमसञ्चार नीति’ जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
चेतना मिडया प्रालिद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार नीति कार्यान्वयन सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा वक्ताले सञ्चार क्षेत्रमा देखिएका विकृति र विसङ्गति रोक्दै व्यवस्थित गर्न सञ्चार नीतिको आधारमा सञ्चार ऐन बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चार माध्यमको विकास, विषयवस्तुमा परिवर्तन, मिडिया एकाधिकार भइरहेको सन्दर्भमा आमसञ्चार नीतिको कार्यान्वयन गर्न जरूरी रहेको बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न सहयोग पुग्ने भएकाले सो हक प्रयोग गरेर सूचना प्राप्त गर्न नागरिकसँग आग्रह गर्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले सरकारी र निजी सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारले ‘हामीले न्यूनतम पारिश्रमिक पाएका छैनौँ’ भनेर गुनासो नगर्दा अध्ययन/अनुसन्धानका लागि समस्या भएको बताउनुभयो ।
सञ्चारमाध्यममा कार्यरत पत्रकारले न्यूनतम पारिश्रमिक पाए/नपाएको बारे समितिले हप्ता दिनभित्रमै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने अध्यक्ष केसीको भनाइ छ । चेतना मिडया प्रालिका अध्यक्ष रामकुमार क्षेत्रीले आमसञ्चार नीति कार्यान्वयन गर्न सञ्चार क्षेत्रबाट सकारात्मक दबाब दिनुपर्नेमा जोड दिनुभयो । रासस