Logo

नेकपा एमाले र राजपालाई सहमति गराउने काम कांग्रेसले गर्छ



संविधान संशोधन अहिलेको मुद्दा र निकासको बाधक दुवै बनेको छ । एमालेले संविधान संशोधनको विरोध गरिरहेको छ भने नेपाली कांग्रेस र माओवादी मधेशीको माग पुरा गराउनका लागि संविधान संशोधन आवश्यक रहेको दाबी गरिरहेको छ । संविधान संशोधन, प्रदेश नम्बर २ को चुनाव, दलहरुबिचको आपसी सम्बन्ध लगायतका विषयमा ऋषि धमलाले गर्नुभएको संवादको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मिन विश्वकर्मा, नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले संविधान संशोधन गराउन सक्छ ?
संविधान संशोधन भनेको दुई तिहाई बहुमतले गर्नें हो । त्यसका लागि सत्तारुढ दलले जहिले पनि प्रयास गर्छ ।

कांग्रेसले मन्त्रीमण्डल विस्तारलाई संविधान संशोधनसँग जोडेर धेरै नेता तथा दललाई आश्वासन दिइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?
नेपाली कांग्रेसको प्रमुख लक्ष्य भनेको राष्ट्रिय राजनीतिक सहमति नै हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मुलुकलाई निकास दिनका लागि सबैलाई समेट्ने प्रयास गर्नुभएको हो ।

नेपाली कांग्रेसले राष्ट्रको नेतृत्व गर्न सक्दैन भन्ने आरोप एमालले लगाएको छ । तपाईहरु कमजोर बन्नुभएको हो ?
एमालेले स्थानीय तहको चुनावको नतिजालाई व्याख्या गर्दै अरु पार्टीलाई कमजोर सावित गर्न खोजेको हो । तर यथार्थ भिन्नै छ । मधेशबाट जनमत हासिल गरेको भनेर एमालेले जुन प्रचार गरिरहेको छ, त्यो गलत हो । मधेशी जनताले संविधान संशोधनको विपक्षमा मत जाहेर गरेका होइनन् । अहिलेको नतिजामा एमालेले तराईबाट पाएको मत जति सबैलाई मधेशीले दिएको भोट भनेर व्याख्या गर्नु गलत हो । किनभने तराई र मधेश एउटै होइन । त्यसैले अहिलेको राजनीतिक सार भनेको सबै दल एक भएर सहमति खोज्ने नै हो ।

नेपाली कांग्रेसले सहमति कसरी खोज्छ ?
अहिले नेकपा एमाले र राष्ट्रिय जनता पार्टी दुइतिर फर्किएका छन् । नेपाली कांग्रेस मझदारमा बसेर दुई पक्षलाई मिलाउने प्रयास गरिहेको छ ।

नेपाली कांग्रेसले दुइतिर मुख फर्काएका दललाई मिलाउन सक्छ त ?
मिलाउन सक्छ, त्यसका लागि प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot