Logo

हामीलाई नै गाली गरेर हाम्रै घरमा आउन खोज्यो भने एमालेलाई प्रवेश निषेध गछौँ



संविधान संशोधन अहिलेको मुद्दा र निकासको बाधक दुवै बनेको छ । एमालेले संविधान संशोधनको विरोध गरिरहेको छ भने नेपाली कांग्रेस र माओवादी मधेशीको माग पुरा गराउनका लागि संविधान संशोधन आवश्यक रहेको दाबी गरिरहेको छ । संविधान संशोधन, प्रदेश नम्बर २ को चुनाव, दलहरुबिचको आपसी सम्बन्ध लगायतका विषयमा ऋषि धमलाले गर्नुभएको संवादको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

जितेन्द्र सोनल, नेता, राष्ट्रिय जनता पार्टी

नेकपा एमालेले सिमाङ्कन, भाषा, नागरिकता, स्थानीय तहको अधिकार कटौति लगायतका विषयमा संविधान संशोधन गर्नु पर्दैन भनेको छ । यसलाई कसरी लिनुभएको छ ?

केपी ओली सत्ताबाट बाहिरिएपछि एमालेको मधेशप्रतिको दृष्टीकोण बदलिएको छ । एमालेले संविधान संशोधनलाई राष्ट्रघाती र आन्दोलनलाई मेधशीको आन्दोलन नै होइन भनेर आरोप लगाएको छ । एमालेले मधेश विरोधी धारणा आत्मसाथ गर्दै आएको छ । यसलाई हामीले एमाले मधेश विरोधी पार्टी हो भनेर बुझेका छौँ ।

तर एमालेले स्थानीय तहको चुनावमा मधेशमा पनि जित हात पारेको छ । कसरी मधेश विरोधी भन्न मिल्छ ?

एमाले पुरानो पार्टी भएकाले संगठन बलियो छ । करिब ३० प्रतिशत मधेशका जनता गैर मधेशी छन् । त्यसैले चुनावमा यस्तो नतिजा आएको हो । तर मधेशप्रतिको धारणा परिवर्तन नगरेसम्म हामी एमालेसँग संवाद समेत गर्न सक्दैनौँ । अर्को महत्वपूर्ण कुरा भनेको संविधान संशोधन नै निकासको ढोका हो ।

नेकपा एमाले र मधेशका जनतबिचको सम्बन्ध कस्तो देख्नुहुन्छ ?

अहिले एमाले र मधेशी जनताबिचको सम्बन्ध सुमधुर हुन सकेको छैन । एमालेले मधेशी जनताप्रति जस्तो धारणा बनाएको छ, मधेशी जनताले त्यसरी बुझेका छन् । मधेशीको हितमा गर्न लागिएको संविधान संशोधनको विरुद्धमा एमाले किन उभियो भनेर अहिलेसम्म पुष्टी गर्न सकेको छैन ।

तपाईहरुले एमालेलाई मधेशबाट किन लखेट्न खोज्नुभएको त ?

हामीले लखेट्न खोजेको होइन । तर कुरा के हो भने जसलाई गाली गरेको छ उसैको आँगनमा जान खोजेपछि कसरी कुरा मिल्छ ? जब मधेशमा जानु छ भने मधेशीलाई गाली गर्न त भएन नि । हाम्रै घरमा गएर हामीलाई नै हेप्ने र पेल्ने गरेपछि विवाद त भइहाल्छ । अझै पनि मधेशीलाई गाली गरेर २ नम्बर प्रदेशमा प्रवेश गर्न खोज्यो भने एमालेलाई राम्रो हुँदैन । हामीलाई नै गाली गरेर हाम्रै घरमा आउन खोज्यो भने एमालेलाई प्रवेश निषेध गछौँ ।

राजपा कस्तो पार्टी हो ?

राष्ट्रिय जनता पार्टी मधेशी जनताको प्रतिनिधित्व गर्ने मुल पार्टी हो । यो पार्टीलाई कसैले प्रयोग गर्न खोज्यो वा मधेशीको काँधमा बन्दुक राखेर अरुलाई प्रहार गर्न खोज्यो भन्ने गलत हो ।

मधेशी जनताप्रति कुन दलको धारणा के रहेछ भनेर प्रदेश नम्बर २ को चुनावपछि त यथार्थ थाहा होला नि ?

हो, नेकपा एमालेमा कति दम छ वा कांग्रेसमा कति दम छ भन्ने कुरा चुनावपछि थाहा हुन्छ । संविधान संशोधन गरेर चुनावमा जाउँ, त्यसपछि मधेशी जनताको हितमा कसले उठाएको मुद्दा सफल प्रमाणित हुन्छ भन्ने प्रष्ट हुन सकिन्छ । राजपा मधेशको मुल पार्टी हो कि होइन भन्ने कुरा पनि हामी प्रमाणित गरेर देखाउँछाँै ।



प्रतिक्रिया दिनुहोस्

Screenshot