Logo

परराष्ट्रमन्त्री महरासँग जापानका उपविदेशमन्त्री र राजदूतहरुको भेटवार्ता



काठमाडौँ, २७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जापानका संसदीय उपविदेशमन्त्री कियोशी ओडावाराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले भन्नुभयो, “जापान हाम्रो असल, भरपर्दो र विश्वाशिलो मित्र राष्ट्र हो ।”

जापानले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नौबिसेदेखि नागढुङ्गासम्म जापानको सहयोगमा बन्न लागेको सुरुङ मार्ग र पोखरामा खानेपानी परियोजनामा पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माण तथा जापानले सार्क विकास कोषमा सहयोग गरेको प्रति आभार व्यक्त गर्नुभयो ।

जवाफमा मन्त्री ओडावाराले नेपालमा लगानी गर्न चाहने जापानीका लागि अन्तर्राष्ट्रियस्तरको लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले सन् २०२० मा जापानमा हुने ओलम्पिक प्रतियोगितामा नेपाल र जापानका बीचमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

त्यसैगरी आजै परराष्ट्रमन्त्री महरासँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत जर्ज जिओभानी फ्रिडेनले आज शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल भयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न स्वीट्जरल्यान्ड भ्रमणको प्रसङ्ग उल्लेख गर्दै दुई देशबीचमा भएका उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको चर्चा गर्नुभयो । उहाँले ग्रामीण विकास, शिक्षा तथा भूकम्पपछिको पुनः निर्माणमा स्वीट्जरल्यान्ड सरकारले नेपाललाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी राजदूत जर्जले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले आप्रवासनका विषयमा नेपाल र स्वीट्जरल्यान्ड सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

त्यस्तै परराष्ट्रमन्त्री महरासँग नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शामले शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच दुईपक्षीय सहयोग र आपसी हितका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्रीले शैक्षिक क्षेत्रमा बङ्गलादेशले पु¥याएको सहयोगको सराहना गर्दै बिबिआइएन (बङ्गलादेश, भुटान, भारत र नेपाल) संरचनामा रहेर सहकार्यलाई थप प्रगाढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुकुल समय मिलाएर बङ्गलादेशको भ्रमण गर्ने बताउनुभयो ।

राजदूत शामले दुई देशबीच रहीआएको सम्बन्धलाई अझ प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणलाई नियमित गर्नुपर्नेमा जोड दिँदै उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई बङ्गलादेश भ्रमणको निम्तो दिनुभयो । उहाँले बङ्गलादेशलाई ऊर्जाको आवश्यकता भएको भन्दै नेपालसँग भएका ऊर्जाको स्रोतलाई परिचालन गरी निर्यात गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी परराष्ट्रमन्त्री महरासँग नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा आजै भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भयो । परराष्ट्रमन्त्री महराले साँस्कृतिक एवम् धार्मिक सम्बन्धलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै भूकम्पपछिको पुनःनिर्माण कार्यमा श्रीलङ्काले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत परेराले दुई देशबीचको सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा हुलाक टिकट सार्वजनिक गर्न लागिएको जानकारी दिँदै सो अवसरमा श्रीलङ्काको भ्रमण गर्न उपप्रधानमन्त्री महरालाई आग्रह गर्नुभयो । रासस

 



प्रतिक्रिया दिनुहोस्