Logo

अब सशस्त्र द्धन्द्ध गर्न सक्दैनौँ, चुनावमा जान्छौँ : सिपी गजुरेल, नेता, नेकपा माओवादी क्रान्तिकारी



नेकपा माओवादीबाट टुक्रिएको नेकपा माओवादी क्रान्तिकारीलाई अहिले अस्तित्व जोगाउनै मुस्किल छ । पहिलो संविधानसभाको निर्वाचनमा पहिलो ठुलो दल हुँदा एकसाथ रहेका मोहन वैद्यले पार्टी छोडेर नयाँ पार्टी गठन गरेदेखि कुनै पनि उपलब्धि हासिल गर्न सकेको छैन । नेपालमा क्रान्ति गर्न बाँकी नै रहेको र त्यो काम आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्दै आएको माओवादी क्रान्तिकारी अहिले एक कदम पछि हटेको छ । पार्टीले अबको कार्यदिशा चुनावमा सहभागितालाई बनाएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेता सिपी गजुरेलसँग गर्नुभएको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

यहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर के कुरा गर्नुभयो ?
हामी दुईवटा विषयमा कुरा गर्न गएका हौँ । निर्वाचनको प्रयोजनको निम्ती दल दर्ता गर्ने प्रयास पहिले पनि गरेका थियौँ । तर दल दर्ता गर्न दिइएन । निर्वाचन चिन्ह पनि दिइएन । अहिले पनि हामीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका छौँ । यस पटक दल दर्ता जसरी नि हुनुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई भेटेका हौँ । लोकतन्त्रमा दल दर्ता गर्न पाउने अधिकार हुँदैन भनेर प्रश्न गरेका छौँ ।

प्रधानमन्त्रीले के जवाफ दिनुभयो ?
प्रधानमन्त्री हाम्रो दल दर्ताको विषयमा सकारात्मक हुनुहुन्छ । दल दर्ता निर्वाचन चिन्ह दुवैको पक्षमा छु, पहल गर्छु भनेर आश्वासन दिनुभएको छ । चुनावमा सहभागि हुनका लागि प्रोत्साहन गर्नुभएको छ ।

तपाईहरुको पार्टी स्थानीय तहको निर्वाचनमा कमजोर देखियो । किन ?
पहिलो कुरा त निर्वाचन आयोगले हाम्रो पार्टीलाई दर्ता नै गराएन । हाम्रो दलमा आवद्ध कार्यकर्ताको नामावली समेत मतदाता सुचिमा थिएन । दोस्रो कुरा हाम्रो पार्टीलाई चुनाव चिन्ह समेत दिइएन । हामी निर्वाचनमा सहभागि छौँ भन्ने कुरा धेरैलाई थाहा समेत भएन ।

तेस्रो चरणको चुनावबाट के अपेक्षा गर्नुभएको छ ?
धेरै अपेक्षा गरिएको छ । राम्रो नतिजा आउने सम्भावना धेरै छ । हामी पहिलो संविधान सभामा पहिलो पार्टी भएको माओवादी हौँ ।

त्यसबेलाको माओवादीको नेतृत्व त अहिले पुष्पकमल दाहालले गर्नुभएको छ । त्यतिखेरको जनमत तपाईहरुमा कसरी आउँछ ?
दाहाल नेतृत्वको पार्टीले त अहिले नेपाली कांग्रेसको एजेण्डा बोकेर हिडिरहेको छ । ६४ सालमा जुन एजेण्डा बोकेर पहिलो पार्टी बन्न सफल भएको थियो त्यो एजेण्डा दाहाल नेतृत्वको पार्टीले छोडिसकेको छ । पार्टीलाई त जनताले एजेण्डाका आधारमा मत दिने हो ।

तपाईहरुको विचार र एजेण्डालाई त जनताले अस्विकार गरिसकेका छन् । अब कसरी जनमत पाउनुहुन्छ ?
हाम्रो विचार र एजेण्डालाई जनताले अस्विकार गरेका छैनन् । तर ६४ सालको चुनावमा पहिलो ठुलो पार्टी भएर सरकारको नेतृत्व गर्दा समेत राम्रा काम गर्न नसकेकाले प्रभाव परेको हो । दाहाल र बाबुराम भट्टराईले त्यतिबेलादेखि नै पार्टीको एजेण्डा लागु गर्न सकेनन् । माओवादी आन्दोलन खेर गयो भन्ने सन्देश जनतामाझ गयो । अब हामी वास्तविक माओवादीको एजेण्डा लिएर जनतामाझ जान्छौँ । हामीले उठाएका एजेण्डा गलत छैनन् ।

नेपाली जनता त अब क्रान्ति, हतियार र द्धन्द्धको पक्षमा आउछन् ?
जनता अहिले हतियार र द्धन्द्धको पक्षमा छैनन् भन्ने कुरा हामीले बुझेका छौँ । अब सशस्त्र द्धन्द्ध हुने अवस्था पनि छैन । अब हामी निर्वाचनमा गएर जनतालाई कुरा बुझाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका छौँ । हामी चुनावमा सहभागि हुनका लागि तयारी गरिरहेका छौँ ।

चुनावमा कुनै दलसँग गठबन्धन गर्ने योजना छ ?
अहिले हामीले ४ वटा दलसँग गठबन्धन नगर्ने निष्कर्ष निकालेका छौँ । राप्रपा, नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसँग कुनै पनि सहकार्य वा गठबन्धन गदैनौँ । तर हाम्रो एजेण्डा मिल्नेसँग तालमेल हुने सम्भावनालाई खुला राखेका छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot