Logo

गज्जब जमेको डाक्टरद्वयको जोडी



झट्ट हेर्दा भर्खरको युवा, कहीँ–कतै रोजगारीको खोजीमा भौंतारिइरहेको जस्तो देखिन्छ उहाँलाई । तर, आफ्नो जिम्मेवारी र व्यस्तताले सदा हतारिरहनुभएको हो उहाँ । बीचमा नै अध्ययन छाडेर बरालिने ठेट्ना नेपाली युवाको भिडमा उहाँकोे क्षमता–विधा निकै दख्खल दर्जामा पर्छ । र त कलिलै उमेरमा आफ्नो पेशामा निकै फट्को मार्नुभएको हो उहाँले ।

विक्रम सम्वत् २०७२ मा ‘नेपाल अर्थोपेडिक एसोसिएशन’ले आयोजना गरेकोमा ‘बेस्ट रेसिडेन्ट अवार्ड’ प्राप्त, २०७३ का ‘बेस्ट योङ अर्थोपेडिक सर्जन अवार्ड’ उपाधि विजेता, ‘एओअलायन्स’ नामक संस्थाले नेपालका सबै जिल्लामा दिने ‘अर्थोपेडिक’ तालिम सञ्चालनमा विगत पाँच वर्षदेखि आबद्ध, २०७२ वैशाखमा आएको भूकम्पका बेला विभिन्न ठाउँमा पुगेर पीडितको हाडको निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्न सक्रिय, दीर्घायु गुरु अस्पताल मित्रपार्क, एपोलो पोलिक्लिनिक मैतीदेवी, सिद्धि पोलिक्लिनिक डिल्लीबजार, जोरपाटीस्थित नेपाल मेडिकल कलेजका ‘लेक्चरर’ तथा चर्चित अनि व्यस्त ‘अर्थोपेडिक’ डा. विजयेन्द्र अधिकारीको चर्चा हो यो ।

डा. विजयेन्द्रको जन्म वि.सं.२०३९ कार्तिक २७ गते काठमाडौंको मैतिदेवीमा श्री योगेन्द्र यादव र श्रीमती उर्मिला यादवका १ छोरा तथा २ छोरीमध्ये पहिलो सन्तानको रूपमा भएको हो । उहाँका बहिनीहरू भावना र इशिका हुनुहुन्छ । उहाँहरूको पुख्यौली घर भने महोत्तरीको टेङगर हो । खान्दानी र बौद्धिक परिवारमा जन्मनुभएका डा. विजयेन्द्रको बाल्यकाल निकै सुखद ढंगबाट बित्यो । त्यही भएर होला– त्यस्तै चार वर्षको उमेरमा उहाँलाई ललितपुरको कुपण्डोलस्थित (हाल चोभार) मोडर्न इण्डियन स्कुलमा भर्ना गरियो । बच्चाबाटै मेहनती, चनाखो, जिज्ञासु स्वभाव र तीक्ष्ण बुद्धिका उहाँले नर्सरीदेखि कक्षा १२ सम्म त्यहाँ नै अध्ययन गर्नुभयो । खेलकुद त्यसमा पनि क्रिक्रेटप्रति उहाँको सानैदेखि विशेष रूचि थियो । र त विभिन्न प्रतियोगितामा भाग लिएर थुप्रै पुरस्कार हात त पार्नुभयो नै, मैतिदेवीस्थित प्रगतिशील क्लबको समेत क्याप्टेन बन्नुभयो । यतिमात्रै होइन– स्कुलमा पनि उहाँ १० कक्षा पढ्दासम्म जुनियर क्याप्टेन र कक्षा १२ पुग्दा क्याप्टेन हुनुभयो ।

उसो त २०५५ मा एसएलसी र २०५७ मा १२ कक्षासम्मको अध्ययन सक्नुभएका डा. विजयेन्द्रको अब भने क्रिक्रेटप्रतिको सक्रियता बन्दजस्तै भयो । कारण के थयो त भन्दा उहाँ स्पष्ट पार्नुहुन्छ– ‘त्यसपछि एमबीबीएस भर्नाका लागि दुई वर्ष तयारी गर्नुपर्ने भयो ।’ उसो त हजुरबुबा श्री विलट यादव र बुबा श्री योगेन्द्र यादवलगायत परिवारको इच्छा–चाहना पनि डा. विजयेन्द्रलाई डाक्टर नै बनाउने थियो । ‘हजुरबुबा तराईको मध्यम परिवारको रूपमा कहलिएको व्यक्ति, बुबा अत्यन्त मेहनती, त्यसैले उहाँहरू इज्जतका लागि पनि म डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो’ डा. विजयेन्द्र गर्व गर्नुहुन्छ– ‘हुन पनि पुख्र्यौली गाउँको पहिलो डाक्टर मै हुँ ।’

नभन्दै २०५९ मा एमबीबीएस अध्ययनका लागि डा. विजयेन्द्रको नाम निस्कियो र उहाँ राजधानीको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा भर्ना हुनुभयो । २०६५ मा त्यो पनि पूरा गर्नुभयो । अनि तीन वर्ष ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा हाडजोर्नी विभागमा ‘हाउस अफिसर’को रूपमा सेवा गर्नुभयो । त्यसपछि भने डा. विजयेन्द्रले २०६९ बाट नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा एमएस ‘अर्थोपेडिक’को पढाइ सुरु गर्न थाल्नुभयो । त्यसको एक महिना बित्दानबित्दै उहाँ विवाह बन्धनमा बाँधिनुभयो ।

यद्यपि उहाँले आफ्नो अध्ययनलाई भने निरन्तरता दिइनै रहनुभयो । तीनवर्षे ‘कोर्स’ पूरा गरेर २०७२ देखि त्यहाँ नै सेवा गर्न थाल्नुभयो । हाल डा. विजयेन्द्र नेपाल मेडिकल कलेजमा नै ‘लेक्चरर’को रूपमा कार्यरत हुनुहुन्छ । शनिवारबाहेक सातामा छ दिन, तीन दिन शल्यक्रिया र तीन दिन ‘ओपीडी’मा बिहान नौ बजेदेखि अपराह्न चार बजेसम्म व्यस्त हुनुहुन्छ उहाँ । भन्नुहुन्छ– ‘आकस्मिक परेमा शनिवार पनि पुग्छु ।’ त्यसो त हाडजोर्नी विभागअन्तर्गत उहाँलाई यहाँसम्म पु¥याउनेमा प्रो.डा. रमेशप्रसाद सिंहको ठूलो भूमिका रहेछ । डा. विजयेन्द्र सम्मानपूर्वक स्मरण गर्नुहुन्छ– ‘उहाँले नै पढाउनुभयो, माया गर्नुभयो, निगरानी पनि राख्नुभयो, गुरु हुनुहुन्छ उहाँ ।’

डा. विजयेन्द्रको विवाह भने २०६९ वैशाख १३ गते काठमाडौं लाजिम्पाटकी डा. मनीषा यादवसँग भएको हो । पुख्र्यौली घर सिराह हुनुभएकी, अध्ययनमा अब्बल मनीषाले सिद्धार्थ वनस्थली स्कुल, बालाजूबाट एसएलसी र कक्षा १२ सम्म छात्रवृत्ति पाएर नै अध्ययन गर्नुभएको हो । त्यसपछि पनि शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा नै एमबीबीएस पढ्न नेपालगन्ज मेडिकल कलेज, बाँके जानुभयो ।

त्यसपछि नेपाल सरकारको नीतिअनुरूप करारमा दुई वर्ष सिराहकै जिल्ला अस्पतालमा सेवा गर्नुभयो । अनि राजधानीको प्रसूति गृह थापाथलीमा ‘एमडी’ स्त्री रोग विशेषज्ञ तीनवर्षे ‘कोर्ष’ पूरा गरेसँगै त्यहीँ कार्यरत हुनुभयो । ‘लभ म्यारिज हो कि एरेन्ज ?’ कसरी साइत जु¥यो त तपाईंहरूको ? भन्ने प्रश्नमा डा. विजयेन्द्र मुस्कुराउँदै रहस्य खोल्नुहुन्छ– ‘एरेन्ज नै हो, मेरो बुबाको साथीमार्फत भेटघाट र चिनजान भयो । अनि एकअर्काबीच मन पराएर विवाह गरियो ।’ हुन पनि सुरुबाटै यी ‘डाक्टर’द्वयको जोडी मज्जाले जमेको छ, दिन जति बित्दै छ– आत्मीयता पनि त्यति नै बढ्दै छ । तथापि दुवै अत्यन्त व्यस्त हुनुहुन्छ । र त घरपरिवारमा पनि सबैले खुसी व्यक्त गर्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्