Logo

सिरहाका मदर्सा आर्थिक संकटमा



लहान, ३० असार । मदर्सा व्यवस्थापन सञ्चालन अनुदान रकम नआउँदा सिरहाका अधिकांश मदर्सा आर्थिक संकटमा फसेका छन् ।

मदर्सा व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले वर्षेनी दिँदै आएको अनुदान रकम यो वर्ष उपलब्ध नहुँदा सिरहाका अधिकांश मदर्सा आर्थिक संकटमा परेका हुन् ।

मदर्सालाई व्यवस्थापन सञ्चालन अनुदान भन्दै शिक्षा विभागले सिरहाका प्रत्येक मदर्सालाई वार्षिक रु डेढ देखि दुई लाखसम्म एकमुष्ट अनुदान दिँदै आएको थियो । जिल्लामा ६१ वटा मदर्सा दर्ता भएका छन् ।

चालु आव सकिन एक दिनमात्र बाँकी रहँदा निमाविस्तरको एक मदर्साबाहेक अन्य कुनै मदर्साले पनि चालु आवको उक्त अनुदान रकम पाउन सकेको छैन ।

सरकारी अनुदानकै भरमा सञ्चालन हुँदै आएका अधिकांश मदर्साले चालु आव २०७३÷७४ को अनुदान रकम समयमै नआउँदा शिक्षकलाई तलब खुवाउने समेत समस्या भएको गुनासो गरेका छन् ।

‘आव सकिनै लाग्दासमेत शिक्षा कार्यालयबाट अनुदान रकम नआउँदा मदर्सा कसरी सञ्चालन गर्ने भन्ने चिन्तामा डुबेका छौँ’, लहान नगरपालिका–९ स्थित मदर्सा अल्लेसुलतका प्रअ मुस्ताक अहमदले भन्नुभयो – ‘‘अब शिक्षकलाई तलब कहाँबाट दिने र शिक्षण सामाग्री लगायतका सामान कसरी खरिद गर्ने भन्ने समस्या भएको छ ।”

समयमा अनुदानबापतको रकम नआउँदा करिब छ महिनादेखि शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ, उहाँले भन्नुभयो – अब त तलब खुवाउन ऋण नै खोज्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

करिब सयजना मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत रहेको आफ्नो मदर्सामा शिक्षा कार्यालयको दरबन्दीमा एकजना र निजी स्रोतबाट तीनजना गरी चारजना शिक्षक कार्यरत रहेको प्रअ अहमदले बताउनुभयो ।

अनुदान रकम नआएका कारण निजी स्रोतमा कार्यरत शिक्षकलाई तलव खुवाउन समस्या भएको उहाँको भनाइ छ । मदर्साका प्रअ, शिक्षक तथा अभिभावकले सिरहा जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णलाई तत्काल अनुदान रकम उपलब्ध गराउन आग्रहसमेत गरेका छन् ।

शिक्षा विभागबाट निकासा नआएकाले मदर्सालाई दिदैं आएको अनुदान रकम उपलब्ध गराउन नसकेको बताउँदै जिशिअ कर्णले “मदर्साको एकमुष्ट अनुदान रकमबारे पटक–पटक शिक्षा विभागमा पत्राचार गरे पनि हालसम्म कुनै जवाफ नआएकाले दिन नसकेको हो भन्नुभयो ।”

चालु आव सकिन अझ एक दिन बाँकी रहेकाले विभागबाट अनुदान रकम उपलब्ध गराउने बित्तिकै मर्दसालाई निकासा दिने जिशिअ कर्णले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एक लाख युवा वैदेशिक रोजगारमा

विगत सात वर्षको अवधिमा सिरहाबाट झण्डै एक लाख युवा वैदेशिक रोजगारमा गएको एक तथ्यांकले देखाएको छ ।

सिरहामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति÷सूचना तथा परामर्श केन्द्र र सामी परियोजनाले आज सदरमुकाम सिरहामा आयोजना गरेको कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

सामी परियोजनाका जिल्ला संयोजक कबीरकुमार चौधरीले जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको अवस्थाबारे तथ्यांक प्रस्तुत गर्दै आव २०६७÷६८ देखि हालसम्ममा जिल्लाबाट ९४ हजार २७५ जना युवा वैदेशिक रोजगारमा गएको जानकारी दिनुभयो । जसमा ९४ हजार १४४ पुरुष र १३१ जना महिला रहेको तथ्यांकमा उल्लेख छ ।

उहाँकाअनुसार आव २०६७÷६८ देखि २०७३÷७४ सम्ममा जिल्लाबाट सबैभन्दा बढी ३५ हजार ७९८ जना युवा कतार, २९ हजार ६५८ जना साउदी, २२ हजार ४४८ जना मलेसियामा वैदेशिक रोजगारका लागि गएको छ । सामी परियोजनाअन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रबाट दुई वर्षको अवधिमा वैदेशिक रोजगारका लागि जिल्लाबाट ५९ जनाले निःशुल्क सीप सिकेर तथा १० हजार २०३ जनाले निःशुल्क सूचना तथा परामर्श लिएर वैदेशिक रोजगारमा गएको संयोजक चौधरीले बताउनुभयो ।

यस्तै वैदेशिक रोजगारका क्रममा मृत्यु भएका १४ जनामध्ये चालु आव २०७३÷७४ मा १२ जनाको परिवारलाई रु एक करोड १८ लाख ८४ हजार ५१८ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।

सिरहाबाट वण्ैदेशिक रोजगारीमा जानेमध्ये करिब दुई प्रतिशतमात्र दक्ष भएर जाने गरेकाले वैदेशिक रोजगार चुनौतीपूर्ण बनेको परियोजनाको ठहर छ ।

सिरहाका स्थानीय विकास अधिकारी सुरेशकुमार राउतले कुनै सीप वा जानकारी नलिई विदेश गएर दुःख पाउनुको साटो स्वदेशमै कुनै सीप अथवा जानकारी लिएर गएमा युवाले दुःख नपाउने विश्वास व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot