Logo

फोटोखिच्न लागेका फोटोपत्रकारकै फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरिन सभामुखले



काठमाडौं, असार ३० । फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडीया सपोर्टको सहयोगमा पत्रकार र शुरक्षा बिषयमा फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।

बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटोप्रदर्शनीको समुद्घाटन सभामुख ओनसरी घर्तीले फोटोपत्रकारहरुको फोटो खिचेर गरेकी हुन् । लडाकुलाइ हतियारको जती मायाँ हुन्छ त्यो भन्दा पनि बढी मायाँ फोटोपत्रकारलाई क्यामेराको हुन्छ भन्दै प्रमुख अतिथी घर्तीले फोटोपत्रकारहरुका समस्याका बारेमा सदन सकारात्मक बन्ने बताइन् ।

द्धन्दकाल तथा गणतन्त्र प्राप्तीका लागि महत्वपूर्ण भुमिका खेल्ने र ठूला ठूला चुनौतीको सामना गर्ने पत्रकारहरुलाई आफूले सदैव सम्मान गर्ने समेत बताइन् ।
यसैगरि नेपाल सरकार सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारिता समाजको मुख्य अंग भएका कारण पत्रकार महासंघ मार्फत गरिएको दुर्घटना बिमा पर्याप्त नभएको बताउँदै पत्रकारहरुले भोग्नु परेको जोखिमलाइ न्युनिकरण गर्दै जानुपर्ने र यसका लागि अबसर दिन आग्रह गरे ।

समुद्घाटन कार्यक्रममा सूचना बिभागका निर्देशक बिर बहादुर राइले सूचना बिभागको सहयोगमा फोटोपत्रकार क्लबसँग मिलेर तालिम सम्पन्न भइसकेको बताउँदै राज्यका तर्फबाट आबस्यक सहयोग र सहकार्य एकजुट हुने धारणा ब्यक्त गरे ।

अहिलेसम्म मारिएका र कुटाइ खाएको पत्रकारहरुमाथि न्याय नभएको बताउँदै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले भुकम्पका बेला फ्रन्टमा पुगेर फोटो खिच्ने फोटोपत्रकारको प्रशंशा गरे । उनले पत्रकार तथा फोटोपत्रकारहरुका सुरक्षा चुनौतीलाई कम गर्दै लानुपर्ने र सरकारी कार्यालय जहाँ धेरै कार्यक्रमहरु हुन्छन त्यहाँ फोटोपत्रकारहरुका लागि सहज स्थान निर्माण गर्न सम्बन्धित पक्षसँग आग्रह गरे ।

आइएमइ ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सबै फोटोपत्रकारले रोजगारी पाउन ५ लाख भन्दा धेरै खर्च गरेर आफै क्यामेरा किन्नु पर्ने र मिडिया संचालकले क्यामेरा नकिन्ने सुन्दा अचम्म लागेको बताउँदै फोटोपत्रकारहरुलाई क्यामेरा किन्न ग्लोबल आइएमइ बैंककले लोनको ब्यबस्था मिलाउने बताए ।

फोटोपत्रकारहरु कसरी आफ्ना तस्बिर खिच्दा सुरक्षा चुनौतीको सामना गरिरहेका हुन्छन भन्ने कुरा फोटोप्रदर्शनी हेरेपछि स्पष्ट हुने बताउँदै ढकालले गएका केहि बर्षदेखि जारी फोटोपत्रकार क्लबसँगको सहकार्य अझै अगाडी बढ्ने बिश्वास ब्यक्त गरे ।

नेपालका पहिलो फोटोपत्रकार गोपाल चित्रकारले सूचना बिभाग लगायतका सरकारी संस्थाहरुले पत्रकारलाई पुरस्कार र अवार्ड बितरण गरे पनि अहिलेसम्म एकजना फोटोपत्रकारलाई सन्मान पुरस्कार नदिएको बताए । पत्रकार भन्दा फोटोपत्रकारलाइ बढी सुरक्षा चुनौती हुने बताउँदै चित्रकारले फोटोपत्रकारहरुलाइै सुरक्षा सम्बन्धी तालिम अनिबार्य गर्नुपर्ने बताए ।

फोटोपत्रकार क्लबका संस्थापक अध्यक्ष चन्द्र शेखर कार्कीले सबै मिडीया हाउसमा फोटोपत्रकारलाइ दोस्रो दर्जाको पत्रकारको रुपमा हेरिने बताए । यसैगरी फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले संसदमै फोटोपत्रकारलाई फोटोखिच्ने ठाउँ राम्रो नभएको बताउँदै अब बन्ने नयाँ भवनमा भने यसका लागि पहिलेनै बिचार पुर्याउन सभामुखसँग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot