असार ३१ काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरूले राष्ट्रपति भण्डारीलाई अश्लील शब्द प्रयोग गरी फेसबुकमा स्टाटस पोस्ट गरेका थिए । पक्राउ परेका उनीहरूको आइडी सक्कली थियो, त्यसैले प्रहरीलाई पक्राउ गर्न गाह्रो भएन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । तर, नक्कली आइडी बनाएर उनले गाली गलौज गरेको भए प्रहरीले नियन्त्रणमा लिन गाह्रो पर्ने थियो ।
त्यसका दुईवटा कारण छन्, पहिलो राजनीतिक विषयका स्टाटसबारे फेसबुकले अनुसन्धानमा सहयोग गर्दैन । अर्को, कसैले लेखेको स्टाटस वाक स्वतन्त्रताको दायरामा पर्छ कि घृणाको अभिव्यक्ति (हेट स्पिच) हो भनेर बुझेपछि मात्र फेसबुकले सहकार्य गर्छ । हेट स्पिचका विषयमा मात्र फेसबुकले अनुसन्धानमा प्रहरीसँग आवश्यक सहकार्य गर्छ । ‘राजनीतिक विषयसँग सम्बन्धित स्टाटसबारे फेसबुकले वास्ता गर्दैन । यस्तो अवस्थामा प्रहरीले आफैं अनुसन्धान गरी अभियुक्तसम्म पुग्नुको विकल्प हुन्न । तर, धेरै अवस्थामा यो काम निकै गाह्रो हुन्छ’, नेपाल प्रहरीको साइबर अपराध हेर्ने एक प्रहरी भन्छन् ।
वाक स्वतन्त्रता र हेट स्पिचबारे लामो समयदेखि बहस हुँदै आएको छ । सामान्यतया जात, धर्म, सम्प्रदाय, अपांगता, लैंगिकता, यौन अभिप्रेरितलगायत विषयका आधारमा कुनै व्यक्ति वा समूहविरुद्ध बोलेर, लेखेर वा संकेतद्वारा गरिने आक्रमणलाई ‘हेट स्पिच’ भन्ने गरिन्छ । साइबर अपराध नयाँ विषय भएकाले अनुसन्धान गर्ने प्रहरीदेखि न्यायालयसम्म स्पष्ट देखिँदैनन् ।