Logo

विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि !



राजाराम कार्की : काठमाडौँ, ३१ असार । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ ।

मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्न सकिन्छ । एक रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्दा रू ६० हजारसम्म आम्दानी लिन सकिन्छ । यस हिसाबले एक हजार ७५० रोपनी जमिनमा तरकारीखेती गर्दा रु १० करोड ५० लाख आम्दानी लिन सकिन्छ ।

तर ती सबै जमिनमा अन्नबाली लगाउँदा भने प्रतिरोपनी रु १० हजार मात्र आम्दानी हुने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले सार्वजानिक विद्यालय परिसरका खाली जमिनलाई करेसावारीका रुपमा विकसित गरी तरकारीखेती गर्न सुझावसमेत दिएको छ ।

खेलकुद मैदान बाहेक विद्यालयका जमिन बाँझो हुन्छ । बाँझो जमिनको उपयोग कसरी गर्ने भन्ने ज्ञान विद्यार्थीलाई प्रदान गर्न र उत्पादनमा प्रत्यक्ष सहभागी गराउन परिषद्ले सम्बन्धीत सबै पक्षसंग आग्रह गरेको छ ।

परिषद्का बाली तथा बागवानी निर्देशक डा यज्ञप्रसाद गिरी विद्यालयका खाली जमिनमा करेसाबारी खेती गर्न व्यवहारिक ज्ञान छात्रा÷छात्रालाई प्रदान गर्न र पोषण शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

“विद्यालयभित्रैको स्थलगत व्यवहारिक ज्ञान र सीपले छात्रा÷छात्रालाई कसरी आत्मनिर्भर बन्ने भन्ने सिकाउनुका साथै जमिनको उपयोगसमेत हुन्छ ।” उहाँले भन्नुभयो ।

“व्यावसायिक तरकारीखेतीको अवधारणाका सम्बन्धमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिने गरेका छौँ तर व्यबहारिक ज्ञान भने अझैं दिन सकेका छैनौँ ।” भविष्य उज्ज्वल प्राविका शिक्षक तारा थापाले भन्नुभयो ।

भूमेस्थान प्रावी, भूमेडाडाका विद्यार्थीले हातहातमा भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको कक्षा एकदेखि पाँचसम्मका ‘तरकारीखेती’ सम्वन्धी पुस्तक बोकेका छन् । विद्यालयले सो पुस्तक पढाउँछ । तर अभिभावकले हाम्रा छोराछोरीलाई खेती गर्न किन लगाएको भनेपछि विद्यालयमा करेसाबारी तरकारीखेती गर्न छोडेको शिक्षक विदुर अधिकारीले बताउनुभयो ।

कृषि उपेक्षित पेशा भएकाले यसबाट सन्तानले दुःख नपाउन भनी अभिभावकले बिद्यार्थीलाई स्कुलमा पढाउन पठाएको पाइन्छ । उल्टै विद्यालयले खेती गर्न लगाएपछि शिक्षक बिदुरसँग अभिभावक रिसाएको भन्नुहुन्छ, किसान रामकृष्ण ढकाल ।

केही वर्ष पहिले स्वीस विकास नियोग (एसडिसी)को आर्थिक सहयोगमा बागवानी अनुसन्धान महाशाखा, खुमलटारले रामेछाप र दोलखा जिल्लाका ३० विद्यालयमा तरकारी खेती कार्यक्रम सञ्चालन गरेको थियो । परियोजना समाप्त भएसँगै उक्त विद्यालयले सो कार्यक्रम सञ्चालनमा ल्याएनन् । अन्यत्रका विद्यालयले यसको अनुशरण पनि गरेनन् ।

विद्यालय करेसाबारीको इतिहास सन् १८११ मा युरोप र १८९० मा अमेरिकाबाट शुरु भएको थियो । सो अवधारणाले बालबालिकालाई वातावरणसम्बन्धी चेतना बृद्धि गराउन, खाने खाद्यान्नको बारेमा जानकारी गराउन तथा करेसाबारी र पोषणमा चासो जगाउनका लागि प्रयोग गरिएको पाइएको छ । अन्यत्र करेसाबारीलाई प्रोत्साहन गर्नका लागि त्यहाँको पाठ्यक्रममा समावेश गरिएको पाइन्छ ।

सन् १८९० मा अमेरिकाले स्कुल करेसा बारीको अवधारणलाई ब्यबहारमा उतारेका थिए । उच्च तहमा बसेका व्यक्तिले उत्पादनमा सहभागी हुनुपर्छ र बालबालिकालाई सानैदेखि उत्पादन कार्यमा लगाउनुपर्छ भन्ने पछिल्लो उदाहरण अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले ह्वाइट हाउसमा रहँदा उहाँका श्रीमत्ति मिचेल ओबामा र छोराछोरी ह्वाइट हाउसको करेसाबारीमा ब्यस्त रहनुहन्थ्यो ।

संसारमा करिव दुई हजार प्रकारका वनस्पती तरकारीका रुपमा खानयोग्य मानिएका छन् । जसमध्ये करिब १०० प्रकार सामान्य प्रचलनमा छन् । व्यावसायीक महत्वका तरकारी भने लगभग २५ थरीको हाराहारीमा छन् । नेपालमा झन्डै ८० प्रकारका तरकारी उत्पादन र उपभोग गरिन्छ ।

स्कुल तरकारीबारी अवधारण र प्रविधिका विशेषज्ञ डा धुव्रराज भट्टराईले विद्यालय करेसाबारी तरकारीखेती नगर्नाले हामी वार्षिक करोडाँै रुपैया गुमाएका छौँ भने तरकारी थोरै खानेबानीको बिकास र विद्यार्थी व्यवहारीक ज्ञानपाउनबाट समेत बञ्चित रहेको छ भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्