Logo

सरकारमा सहभागि हुने विषयले फुटको संघारमा राष्ट्रिय प्रजातन्त्र पार्टी



साउन १, काठमाण्डौ, सरकारमा सहभागि हुने विषयमा विवाद हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्ने सम्भावन बढेर गएको छ । एक दुई दिनभित्रमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहँदा राप्रपामा विवाद बढेको हो ।

राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो नेतृत्वमा सरकारमा सहभागि हुन बल पु¥याउनका लागि गत विहिबार ४२ जना केन्द्रीय सदस्य नियुक्त गरेपछि वरिष्ठ नेता पशुपतिशमशेर राणा पक्षधरले त्यसको विरोध गरेको थियो ।

बरिष्ठ नेता पशुपतिशमशेरले आफ्नो गुटका नेताहरुलाई सरकारमा पठाउने र कमल थापाले आफु उपप्रधानमन्त्रीसहितको टिम मन्त्रीमण्डलमा सहभागि गराउने कुरा उठाएपछि दुई पक्षको कुरा नमिलेको हो । अध्यक्ष थापाको कामप्रति असन्तुष्टी राणाले आफु निकटका नेताहरुलाई एकलौटी रुपमा सरकारमा पठाउने तयारी समेत गरेका छन् । थापाले भने आफू उपप्रधानमन्त्रीसहितको टोली सरकारमा जानुपर्ने अडान लिएका छन् ।

सरकारमा कसरी जाने भन्ने विषयको यो विवादले एकता महाधिवेशन भएको ५ महिना नबित्दै संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको हो ।

यसअघि राणाले शुक्रबार विज्ञप्ति जारी गरेर अध्यक्ष थापाले एकतर्फी रुपमा ४२ जना केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै त्यसले सिंगो पार्टी थापाको बिर्ता भएको सन्देश प्रवाह भएको बताएका थिए । उनले साउन ४ गते पार्टीको केन्द्रीय समितिको बैठक डाकिसकेको अवस्थामा थापाले गरेको नियुक्ति तत्काल फिर्ता लिई पार्टीलाई बिग्रह र प्रत्युत्पादक आन्तरिक द्वन्द्वबाट बचाउनु पर्ने उल्लेख गरेका थिए ।

अध्यक्ष थापा पक्षधर नेताले भने थापाले विधानको अधिकार अनुसार नै केन्द्रीय सदस्य मनोनित गरेको दाबी गरेका छन् । गत फागुनमा राप्रपाको एकता महाधिवेशन भएको थियो । असन्तुष्टि जनाउँदै नेता प्रकाशचन्द्र लोहनीले केही समयमै पार्टी परित्याग गरेर अर्को पार्टी खोलेका थिए ।

एकता महाअधिवेशन भइसकेपछि पनि पार्टीभित्र राणा र थापा समूहको विवाद कायमै थियो । अहिले सरकारमा जाने विषयमा विवाद भएपछि पार्टी नै फुट्न लागेको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot