Logo

न्यायिक बाटो अवरुद्ध गर्ने काम भएको छ : एमाले सांसदहरु



काठमाडौँ, २ साउन । दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का तीनजना सांसदले सरकारी तहबाटै न्यायको स्वतन्त्र निरुपण हुन नदिई न्यायिक बाटो अवरुद्ध गर्ने काम भएको भनी आपत्ति पकट गर्नुभएको छ ।

दोलखाको गौरीशङ्कर–२ जुगुमा वैशाख २६ गते भएको घटनाका अभियुक्त जोगाउन राज्यपक्षबाटै अनेकौं जालझेल भइरहेको आरोप लगाउँदै उहाँहरुले त्यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

सिँहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद पशुपति चौंलागार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले महान्यायाधीवक्ताबाट आफ्नो आस्था निकट रहेको अभियुक्त भएकै कारण पूर्वाग्रह राखी पीडितलाई न्याय पाउनबाट वञ्चित गर्ने काम भएको आरोप लगाउनुभयो ।

उक्त घटनामा स्थानीय कुलबहादुर तामाङको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा साँसद चौलागार्इंले घटनामा संलग्न आपराधिक जत्थालाई कानूनको कठघराबाट उम्काउने तथा फरारलाई तदारुकताका साथ पक्राउ गर्न ध्यान नदिएको भनी सरकारको आलोचना गर्नुभयो ।

जिल्ला अदालतबाट भएको फैसला गैरकानूनी भएको, प्रमाणको सही मूल्याँकन नभएको र आर्थिक चलखेल भएको आशंकामा पीडित परिवारले न्याय परिषद्मा छानबिनका लागि निवेदन दिएको बताउँदै उहाँले महान्यायाधिवक्ताले त्यो घटनासम्बन्धी फाइल मगाइ अड्काई राखेको भनी टिप्पणी गर्नुभयो ।

अर्का सांसद पोखरेलले महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने र ढिला गर्ने भएको प्रतिक्रिया दिनुभयो । सांसद पार्वत गुरुङले हत्याजस्तो फौज्दारी मुद्दामा सरकारी वकिल स्वयम्ले अग्रसरता दिएर मुद्दा अघि बढाउनुपर्नेमा महान्यायाधीवक्ताबाटै न्याय मार्ने गम्भीर षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

उहाले भन्नुभयो– “स्वतन्त्र सुनुवाइमा राज्यले हस्तक्षेप नगरोस् र मुद्दा दर्ता गर्ने काममा विलम्ब नहोस् भनी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ । उहाँहरुले अभियुक्तलाई थुनामा राखेर कारबाही चलाउन तथा फरार अभियुक्तलाई यथाशीघ्र पक्राउ गरी अदालतमा बुझाउन माग पनि गर्नुभएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot