Logo

निलम्बित महानिर्देशक शर्माबारे सर्वोच्चमा सुनुवाई



काठमाण्डु, २ साउन । सर्वोच्च अदालतमा भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ भइरहेको छ । अख्तियारको प्रतिक्षामा महान्‍यायाधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।

शर्माको आइतबार सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सोमबार पुनःसुनुवाइका लागि तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराए ।

अदालतका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरिरहेको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि थुनामा राखिएको छ। शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पूँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फर्छ्र्योट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ।



प्रतिक्रिया दिनुहोस्