Logo

संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ पेश नभए हामी संसद छोडेर सडकमा जान्छौं : यादव



काठमाडौं, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेश राय यादवले संसदनमा विचाराधिन संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ पेश नभए व्यवस्थापिका–संसद छोडेर सडकमा जाने चेतावनी दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले संशोधन प्रस्ताव तत्काल निर्णयार्थ प्रस्तुत नगरे आफूहरु संसद छोडेर सडकमा जाने चेतावनी दिएका हुन् । उनले भने,‘संशोधन प्रस्ताव तत्काल भोटिङ्मा लैजानुपर्छ, हामी भोटिङ्बाट आउने परिणाम स्विकार गरेर चुनावमा जान तयार छौं।’

उनले संशोधन प्रस्ताव पारित होस भनेर नै आफूहरुले चाहेको समेत स्पष्ट पारे । उनले थपे,‘जंग लड्न मैदानमा उत्रिएपछि हारजित त भैहाल्छ नि, तर हार्नको लागि कोही पनि लडाई लड्दैन, हामी परिणाम स्विकार गर्न तयार छौं।’ उनले सरकारले आफूहरुलाई चुनावमा जान नदिनको लागि यसअघिका दुई चरणको निर्वाचनमा पनि बेरियर लगाईदिएको आरोप लगाए।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनमा सहभागी हुनको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको समेत जिकिर गरे । उनले भने,‘राजपा जुनसुकै बेला पनि चुनावमा सहभागी हुन तयारी अवस्थामा छ, हामी पुर्ण तयारीका साथ बसेका छौं।’

यद्धपी उनले ६ दल मिलेर जब राजपा पार्टी बन्यो त्यही दिनदेखि काठमाडौंमा ठूला दल भनाउँदाहरुलाई उकुसमुकुस हुन थालेको आरोप लगाए ।

नेता यादवले राजपा निर्वाचनमा सहभागी भयो भने एकल आफ्नो पक्षमा परिणाम ल्याउने समेत उद्धघोष गरे । तर उनले आफूहरुलाई निर्वाचनमा सहभागी हुन नदिनको लागि प्रमुख तीन ठूला दलहरुले बेरियर लगाईदिएको आरोप लगाए ।

‘सत्तारुढ दलले म कुटेजस्तो गर्छु तर रोएजस्तो गर भनेर प्रतिपक्षी दल एमालेलाई भन्छ, अनि एमाले पनि त्यही गरिरहेको छ, यो नाटक मञ्चन हो, उनले अघि भने,‘अब केटाकेटी खेल खेल्नुभएन।’

उनले सरकारले सामान्य रुपमा गर्न सक्ने कामहरु समेत नगरेको गुनासो पोखे । उनले प्रश्न गरे,‘के सहिद घोषणा गर्नको लागि दुई तिहाई चाँहिन्छ र ? सरकारले गर्नुपर्ने काम ईमानदारिताका साथ गरिदिनुपर्यो, किन आलटाल गरिरहेको छ, यो मैले बुझ्न सकेको छैन।’

 



प्रतिक्रिया दिनुहोस्