Logo

हारको दोष जनतालाई दिएर उन्मुक्ति पाइँदैन : ‘प्रचण्ड’



ललितपुर, ४  साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेता–कार्यकर्ताले उन्मुक्ति नपाउने बताउनु भएको छ ।

बुधबार बिहान ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘देश माओवादीकै एजेण्डामा चलिरहेको छ । माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम पनि गर्यो । तर, निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौं । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौं । हामीले जनतालाई किन बुझाउन सकेनौं ? किन राम्रो संगठन बनाउन सकेनौं ? किन जनताको विश्वास जित्न सकेनौं ? त्यतातिर गम्भीर समीक्षा गरेर मात्र नयाँ पार्टी बन्छ ।’

क्रान्तिकारीहरुको एकता अनिवार्य भएकोमा जोड दिँदै प्रचण्डले भन्नुभयो, ‘साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो । तर, कसैले पनि फुटको औचित्य पुष्टि गर्न सक्नुभएन । जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्पै छैन भन्ने सन्देश दिएर पठाएका छन् ।

अब सबै माओवादी एक हुनुको बिकल्प छैन । अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गर्दैछौं । यसले एकताको वातावरण बनाउँछ भन्ने मेरो विश्वास छ ।’

संगठन बिनाको माओवादीको औचित्य नहुनेमा जोड दिँदै अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘संगठन बिना चुनाव पनि जितिन्न, आर्थिक समृद्धिको नेतृत्व गर्न पनि सकिँदैन । अनि, राजनीतिक संघर्षको नेतृत्व पनि गर्न सकिन्नँ । त्यसैले संगठन, संगठन र फेरि पनि संगठनको नारासहित जनतामा जानुको कुनै बिकल्प छैन ।’

 



प्रतिक्रिया दिनुहोस्