Logo

आर्थिक वर्ष २०७३–७४ को एघार महिनामै मुलुकको व्यापार घाटा सवा ८ खर्ब



साउन ४, काठमाण्डौ । आर्थिक वर्ष २०७३–७४ को एघार महिनामै मुलुकको व्यापार घाटा सवा ८ खर्ब रुपैयाँ पुगेको छ । । निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि व्यापार घाटा चुलिएको हो । सुरुका महिनादेखि नै आयात उच्च दरले बढेपछि यो वर्ष वार्षिक व्यापार घाटा ८ खर्ब नाघ्ने आँकलनहरू गरिएका थियो ।
अघिल्लो आर्थिक वर्ष २०७३–७४ को एघार महिनाको व्यापार घाटा ८ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । ०७३ जेठको तुलनामा चालु आवको सोही अवधिको व्यापार घाटा ३३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो १.६ प्रतिशतले बढेको थियो गत जेठसम्म निर्यात करिब १० प्रतिशतको वृद्धिसहित ६८ अर्ब ६२ करोड रुपैयाँ भएको छ । उक्त अवधिमा ८ खर्ब ९६ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको तुलनामा जेठसम्म आयात ३०.९ प्रतिशतले बढेको राष्ट्र बैंकद्वारा मंगलबार सार्वजनिक जेठ महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

चालु आर्थिक वर्षको ११ महिनासम्म रेमिट्यान्समार्फत ६ खर्ब ३३ अर्ब ४२ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिमा तुलनामा यो ५.८ प्रतिशत बढी हो । ०७३ जेठसम्ममा यस्तो वृद्धिदर ८.६ प्रतिशत थियो । एघार महिनासम्म मुलुक भित्रिएको रेमिट्यान्स रकम उक्त अवधिको कुल व्यापार घाटाभन्दा झन्डै २ खर्ब रुपैयाँले कम हो । यही समयमा विदेशी मुद्राका आम्दानीका अन्य स्रोतहरू पर्यटन, निर्यातलगायतमा अपेक्षित सुधार हुन नसक्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब परेको राष्ट्र बैंकले जनाएको छ ।

यसैकारण दुईबाहेक बाँकी सबै महिनामा चालु खाता ऋणात्मक छ । अघिल्लो वर्षको एघार महिनामा १ खर्ब ३० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको चालु खाता गत जेठसम्म १ अर्ब ७२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको एघार महिनासम्ममा १ खर्ब ७१ अर्ब १५ करोडले बचतमा रहेको शोधनान्तर जेठसम्म ७४ अर्ब २६ करोड रुपैयाँले मात्र बचतमा छ ।

जेठमा तरकारी र दलहन गेडागुडीहरूको मूल्य क्रमशस् १६.३ र १७.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । ०७४ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि २.८ प्रतिशत छ । ०७३ जेठमा यस्तो मूल्य वृद्धि ११.१ प्रतिशत थियो । समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति ५.८ प्रतिशत छ । ०७३ जेठसम्म यो समूहको मूल्य वृद्धिदर साढे १० प्रतिशत थियो ।।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot