Logo

बिमा समितिले तोकेको चुक्ता पुँजी बढाउन अधिकांश बिमा कम्पनीहरूले बोनस र हकप्रद सेयर जारी गर्ने



साउन ४, काठमाण्डौ । बिमा समितिले तोकेको चुक्ता पुँजी बढाउन अधिकांश बिमा कम्पनीहरूले बोनस र हकप्रद सेयर जारी गर्ने भएका छन् । समितिमा पुँजी वृद्धि कार्ययोजना बुझाएका तीन जीवन बिमा कम्पनीले पुँजी पुर्याउन दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर जारी गर्ने भएका हुन् ।

बिमासमितिमा हालसम्म १२ वटा बिमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएका छन् । जसमध्ये नौवटा निर्जीवन बिमा कम्पनी छन् ।

योजना पेस गरेका जीवन बिमा कम्पनीमध्ये एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७३–७४ मा ६० करोड ४२ लाख रुपैयाँको हकप्रद सेयर र आर्थिक वर्ष ०७४–७५ मा १८ करोड ७४ हजार बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । समितिका अनुसार आर्थिक वर्ष ०७२ र २०७३ सम्ममा कम्पनीको चुक्ता पुँजी ८० करोड ५६ कायम छ ।

आर्थिक वर्ष ०७२÷७३ मा कम्पनीले ४० करोड २८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको थियो । समितिले गत चैतमा बिमक सञ्चालन तथा दर्तासम्बन्धी निर्देशिका जारी गर्दै बिमकहरूको चुक्ता पुँजी तोकेको थियो । जसअनुसार जीवन बिमा कम्पनीहरूले २०७५ असार मसान्तसम्ममा २ अर्ब पुर्याउनु पर्नेछ । कम्पनीहरूको वित्तीय विवरण स्वीकृत भएपछि मात्रै बोनस र हकप्रदको अन्तिम निर्णय हुन्छ । गुराँस लाइफ इन्स्योरेन्सको भने आर्थिक वर्ष ०७२–७३ सम्ममा ५५ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको छ ।

कम्पनीले समितिमा बुझाएको योजनाअनुसार आर्थिक वर्ष ०७३–७४ मा ६ करोड बराबरको बोनस र १ अर्ब ५ करोड बराबरको हकप्रद जारी गर्ने योजना बनाएको छ । कम्पनीले आर्थिक वर्ष ०७२–७३ मा ४ करोड ४० लाखको बोनस र २९ करोड ७० लाखको हकप्रद सेयर जारी गरेको थियो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको भने आर्थिक वर्ष ०७२–७३ सम्ममा चुक्ता पुँजी ६२ करोड ५ लाख पुगेको छ । कम्पनीले आर्थिक वर्ष ०७३–७४ मा १० करोड १ लाख बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।

आर्थिक वर्ष ०७२–७३ मा कम्पनीले ६ करोड ५६ लाखको बोनस र २८ करोड ८८ लाखको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पेस गरेको योजनाअनुसार अझै पनि ८८ करोड ८३ लाख अपुग देखिएको छ । त्यसैले कम्पनीले एफपीओ र हकप्रद सेयर जारी गर्ने तथा विदेशी कम्पनीसँग समन्वय गर्ने योजना बनाएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको भने २०६९ सालदेखि नै वित्तीय विवरण समितिबाट स्वीकृत भएको छैन । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी २ अर्ब पु¥याइसकेको छ ।

पुँजी पु¥याउन बाँकी रहेका अन्य चार कम्पनीे भने समितिमा कार्य योजना बुझाएका छैनन् । जसमध्ये राष्ट्रिय बिमा संस्थानको १२ करोड ९३ लाख रुपैयाँ रहेको छ । समितिले तोकेको चुक्ता पुँजी पु¥याउन कम्पनीले अझै १ अर्ब ८७ करोड थप गर्नुपर्नेछ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अझै करिब ६८ करोड रुपैयाँ थप गर्नुपर्ने देखिन्छ । त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन को भने १ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी कायम छ । कम्पनीले अझै ९४ करोड रुपैयँ पुँजी थप गर्नुपर्नेछ ।।



प्रतिक्रिया दिनुहोस्