Logo

कमल थापाले राजतन्त्रको नाममा गणतन्त्रको स्वाद लिइरहेको अध्यक्ष बमको आरोप



काठमाडौं, ५ साउन । राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बमले नयाँ सगणतान्त्रिक संविधानलाई विखण्डनकारीको संज्ञा दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै अध्यक्ष बमले यस्तो आरोप लगाएका हुन् ।

प्रमुख तीन दलका नेताहरुले मुलुक चलाउन नसक्ने बताउँदै अध्यक्ष बमले,‘मुख्य तीन दलका नेताले यो मुलुक चलाउन सक्दैनन्, तीन दलको सिण्डिकेटले मुलुक भड्खालोमा जाक्किँदैछ, यो संविधानलाई तीन दल काँग्रेस, एमाले र माओवादीलेबाहेक अरु कसैले मानेका छैनन्, अर्कोतर्फ वर्तमान संविधानले जनताका कुनैपनि अधिकारी सुरक्षित गरेको छैन।’

उनले अघि थपे,‘हामी संवैधानीक राजतन्त्र र हिन्दुराज्यको पक्षमा छौं, ०४७ सालको संविधान अनुसार मुलुकलाई सुमार्गतिर लैजान सकिन्छ, होईन भने यो विखण्डनकारी संविधानले मुलुक विभाजनतिर जान्छ।’

उनले राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्रको नाममा गणतन्त्रको स्वाद लिइरहेको समेत आरोप लागाए । उनले भने,‘कमल थापा सुरुमा राजतन्त्र र हिन्दुराज्यको मुद्धा उठाएर जनताको बीचमा गए, जनताले दिएको मतलाई उनले पद, शक्ति र सक्तासँग साटे, थापा जसको सरकार आएपनि सक्ताभन्दा बाहिर रहन नसक्ने भए, त्यहि भएर पनि आज राप्रपाका अधिकांश कार्यकर्ता पार्टी छोड्दैछन,् त्यस्तै डा.प्रकाशचन्द्र लोहनी राप्रपामा टिक्न नसकेर बाहिरिएका छन्।’

पार्टी प्रवेश कार्यक्रममा राप्रपाकी केन्द्रिय सदस्य सुकु लामासहित एक दर्जन बढि नेता तथा कार्यकर्ताहरु राष्ट्रिय शिवसेना पार्टीमा प्रवेश गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट आधा दर्जन, नेपाली काँग्रेसबाट दुई जना लगायत विभिन्न पार्टी परित्याग गरि २८ जना नेता तथा कार्यकर्ता राष्ट्रिय शिवसेना पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा राप्रपा केन्द्रिय सदस्य ठाकुर सिलवाल, राप्रपाकै केन्द्रिय सदस्य लुभु ललितपुरका दामोदारलाल श्रेष्ठ, माओवादी केन्द्रका चाँगुनारायण नगरपालिका प्रमुखका उम्मेद्धवार शिव अधिकारी, नेपाल राष्ट्रवादी पार्टीका बरिष्ठ उपाध्यक्ष सुरेश कार्की, राप्रपा केन्द्रिय सदस्य केशव पाण्डे, माओवादी केन्द्र सिन्धपालचोकका कुमार प्रसाद खतिवडा, माओवादी केन्द्र धादिङका नरेन्द्र गुरुङ र शिवसेना नेपालका केन्द्रिय सदस्य उत्तम गिरी लगायत ५० भन्दा बढि नेता तथा कार्यकर्ताहरु थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot