Logo

डोल्मालाई माइती नेपालले हस्तान्तरण गर्यो एक लाख ६० हजार रुपैयाँ (फोटोफिचर)



काठमाडौं, ५ साउन । कुवेतमा १० वर्ष जेल जीवन विताएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाको जीवन रक्षाको लागि ‘डोल्मा जीवन बचाउ अभियानले’ एक लाख ६० हजार ४३ रुपैयाँ डोल्मालाई हस्तान्तरण गरेको छ।

कुवेतमा मृत्युदण्ड सजाय पाएकी डोल्माको जीवन रक्षाको लागि आवश्यक पर्ने सीड संकलन गर्न वि.सं २०६४ पुष ६ गते माइती नेपालको सहयोगमा ‘डोल्मा जीवन बचाउ अभियान’ चलाईएको थियो ।

देश तथा विदेशमा बस्ने विभिन्न व्यक्त्तिबाट १ लाख ६० हजार रुपैयाँ संकलन भएको र उक्त रकम बिहीबार माइती नेपालको कार्यलयमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो।

अभियानकी संयोजक माइती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले कार्यक्रमपछि एक विज्ञप्ति जारी गर्दै सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी छन्।

घरेलु काममा कुवेत गएकी सिन्धुपाल्चोककी डोल्मालाई एउटै घरमा काम गर्ने फिलिपिनी महिलाको हत्या गरेको अभियोगमा कुवेत सरकारले मृत्युदण्ड सुनाएको थियो। उनको मृत्युदण्डको सजाय घटाएर १० वर्ष कारावास र ६ हजार डलर सीड मनि मृतकको परिवारलाई बुझाइएको थियो।

कुवेतमा कार्यरत राजु नागपालले डोल्माको बारेमा माइती नेपाललाई जानकारी दिएपछि ‘डोल्मा जीवन बचाउ’ अभियान सुरु भएको थियो। डोल्मा एक हप्ताअघि नेपाल आएकी थिइन्। नेपालमा एक आश्रयघरमा बसेकी डोल्मालाई यो रकमले ठुलो सहयोग पुग्ने छ।

तस्विर : मुकुन्द कालिकोटे

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot