Logo

बैंक तथा वित्तीय संस्थाको लगानी होटल र पर्यटन क्षेत्रमा बढ्दै



साउन ५, काठमाण्डौ । पर्यटकीय मुलुक नेपालमा राज्यले उचित चासो दिन नसक्दा यो व्यवसायले उल्लेख्य गति लिन सकेको छैन । तर पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसँगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ । निजी लगानीकर्ता पनि होटलमा लगानी गर्न उत्साहित देखिएको तथ्याङ्कले देखाएको छ ।

देशमा राजनीतिक वातावरण सुध्रिँदै गएपछि व्यवसायले गति लिने विश्वासका साथ होटललगायतका पर्यटकलाई सेवा दिने कम्पनी खुल्न थालेपछि बैंकका लागि पनि लगानीको आकर्षक क्षेत्र बन्न थालेको हो । दोस्रो जनआन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै नेपालमा पर्यटकीय क्षेत्रमा नयाँ–नयाँ कम्पनी आएका छन् । पछिल्लो समयमा पाँचतारे होटलदेखि, रिसोर्ट, साना होटल, तथा रेस्टुराँहरू खुल्ने क्रम बढेसँगै बैंकहरूको लगानी पनि बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाको पर्यटन क्षेत्रमा प्रवाह हुने ऋण साढे ३ गुणाले वृद्धि भएको छ ।

०७० जेठसम्म यस क्षेत्रमा बैंकहरूको १८ अर्ब कर्जा दिएकोमा ०७४ जेठसम्म आइपुग्दा कर्जा बढेर ६२ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये ४९ अर्ब ५१ करोड होटल व्यवसायमा र १२ अर्ब ५१ करोड रिसोर्ट, ¥याफ्टिङ, माउन्टेनिङलगायतका पर्यटक लक्षित व्यवसायमा भएको छ । एक वर्षको अवधिमा पर्यटन क्षेत्रका बैंकको लगानी १२ अर्ब रुपैयाँ थपिएको छ ।

०७३ जेठसम्म यस क्षेत्रमा ५० अर्ब ४१ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समयमा पर्यटन व्यवसायलाई कर्जा लगानीको मुख्य क्षेत्रका रुपमा लिइएको बैंकरहरू बताउँछन् । नेपालमा पर्यटनलाई लगानीको आकर्षक क्षेत्रका रूपमा हेरिए पनि लगानी हुन सकेको थिएन । अझै पूर्ण रुपमा राजनीतिक स्थायित्व नभएकाले सम्भावना भए अनुसार लगानी हुन सकेको छैन ।

विगतमा द्वन्द्वका कारण पर्यटन व्यवसायमा आएको मन्दीसँगै विगतमा ठूला–ठूला होटलसमेत बन्द भएका थिए । पछिल्लो राजनीतिक परिवर्तनसँगै राजनीतिक स्थिरता आउने र पर्यटक व्यवसायले पुनः गति लिने विश्वासका साथ लगानी बढ्न थालेको हो । राष्ट्र बैंकका अनुसार ०७४ जेठसम्म बैंक तथा वित्तीय संस्थाले २२ खर्ब ९२ अर्ब निक्षेप संकलन गरी १९ खर्ब ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यद्यपी बैंकहरूले राष्ट्र बैंकले तोकेको अनुपातमा उत्पादनशील क्षेत्रमा लगानी पु¥याउन सकेका छैनन् ।

बाणिज्य बैंकहरूले कुल कर्जाको २० प्रतिशत तोकिएका उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा ०७४ जेठसम्म १७.५ प्रतिशत मात्र लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।।



प्रतिक्रिया दिनुहोस्

Screenshot