Logo

‘सैद्धान्तिक प्रष्टता कायम गर्न नसक्दा क्षति’



काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले योजनाबद्ध र सङ्गठित रुपमा फैलाइएका नकारात्मक प्रचार र भ्रमलाई समयमा निराकरण गर्न नसक्दा चुनावको परिणाम अपेक्षाकृत सफलतातर्फ उन्मुख हुन नसकेकामा पार्टीका केन्द्रीय सदस्यले चिन्ता गरेका छन् ।

बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा तत्कालीन राप्रपा नेपालसँग भएको एकीकरणपछि एकताको भावनालाई स्थानीय तहसम्म सशक्त र प्रभावकारी रुपमा प्रवाह गर्न नसकिएकाले पराजय भोग्नुपरेको धारणा केही नेताले राखेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा नयाँ संविधानानुसार वडा तहसम्म संगठन समायोजन गरी पार्टीका नेता तथा कार्यकर्ता सम्बन्धित क्षेत्रमा केन्द्रित हुन सुझाइएको छ । पार्टीले लिएको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको वैचारिक सन्देशलाई देशभर सशक्त रुपमा फैलाउन जोड दिइएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार बैठकमा मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रविरुद्ध संगठित र योजनाबद्ध रुपमा अभियान सञ्चालन गर्न अधिकांश नेताले सुझाउनुभएको छ ।

संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक अभ्यासका साथै यसको मूल्यमान्यता र समावेशी सिद्धान्तलाई आत्मसात् गरेकाले आगामी माघ ७ गतेभित्र संसद् र प्रदेश सभाको निर्वाचनमा बहुमत ल्याई पार्टीले लिएका सिद्धान्त स्थापित गर्नुपर्नेमा केही नेताले धारणा राख्नुभएको बताइएको छ । शुक्रबार सम्पन्न हुने बैठकमा आज साँझसम्म ८९ नेताले धारणा राख्नुभएको छ । शुक्रबार बिहान ८ बजेसम्म बैठक स्थगन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्