Logo

संविधान संशोधन प्रस्ताव प्रक्रियामा लैजान काँग्रेसमा दबाब



भीष्मराज ओझा : काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसको प्रदेश नं २ स्तरीय भेलाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्ने राजनीतिक प्रस्ताव पारित गरेको छ ।

काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाइएको उक्त भेलाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई संशोधन प्रस्तावको पक्षमा मतदान गरी देशलाई राजनीतिक निकास दिन आग्रह गरेको छ ।

नेता कार्यकर्ताले संशोधन प्रस्तावप्रति विमति राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई सहमतिमा आई मधेसका समस्या समाधानमा सहयोग गर्नसमेत आग्रह गरेको सांसद रञ्जीत कर्णले जानकारी दिनुभयो । काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै दललाई सहभागी हुन आह्वान गरेको छ ।

बैठकले प्रदेश नं २ मा बढाइएको स्थानीय तहको संख्या तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । संशोधन प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत नपुग्ने आँकलनपछि प्रक्रियामा अघि बढाउने कि नबढाउने भन्ने सत्तापक्षको द्विविधाका माझ भेलामा त्यस्तो सुझाव आएको छ । बैठकमा राष्ट्रवादको गलत नारा दिने दलको वास्तविकतालाई जनतासामु स्पष्ट पार्नुपर्ने धारणासमेत आएको थियो ।

भेलाले जिल्लागत समूहमा छलफलबाट उजागर गरिएका स्थानीयका जनसवाललाई जिल्लाका घोषणापत्रमा समेट्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । समूहगत छलफलबाहेक बैठकमा जिल्लागत रुपमा करिब ६५ जनाले निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीका बारेमा धारणा राख्नुभएको थियो ।

निर्वाचनमा पार्टीप्रति जनताको आकर्षण बढाउन समयमै प्रचारप्रसार कार्यक्रम गर्ने, केन्द्रीय पदाधिकारीको उपस्थितिमा प्रत्येक जिल्लामा आमसभा गर्ने, सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर जनताले रुचाएका उम्मेदवार चयन गर्नेलगायत निष्कर्ष निकालेको सर्लाही काँग्रेसका सभापति नागेन्द्रकुमार रायले बताउनुभयो ।

बैठकले प्रदेश नं २ का सबै जिल्लाका विकास निर्माणका आयोजनालाई प्राथमिकतामा राखी विकाससम्बन्धी प्रस्तावसमेत पारित गरेको सभापति रायले जानकारी दिनुभयो । राजर्षी जनक विश्वविद्यालय र वीरगन्ज विश्वविद्यालयलाई तत्काल स्वीकृति दिइ जनताको पहुँच विश्वविद्यालयसम्म पुग्ने सुनिश्चितता गरियोस् भन्ने प्रस्ताव पारित गरिएको छ ।

त्यस्तै सुनकोशी कमला ड्राइभर्सनको डिपिआर तयार गरी पाँच वर्षभित्र तराईका जिल्लालाई सिँचाइको व्यवस्था गर्न र दोस्रो चरणको कार्यक्रमअन्तर्गत हुलाकी पूर्व–पश्चिम राजमार्ग पाँच वर्षभित्र सरकारले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गरी निर्माण कार्य गरिसक्नुपर्ने प्रस्तावसमेत पारित गरिएको छ ।

भेलामा नेता विमलेन्द्र निधिले स्थानीय तहको दुई चरणको निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेकाले तेस्रो चरणको निर्वाचनबाट पुनःपहिलो पार्टी बन्ने रणनीतिक योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस एमालेभन्दा ५० तहमा पछि परेको भन्दै नेता निधिले पहिलो बन्नलाई प्रदेश नं २ का कुल १२७ तहमध्ये १०० तहमा काँग्रेसले जित्नैपर्ने धारणा राख्नुभयो ।

प्रदेश नं २ का सप्तरी र सिराहाबाहेक छ जिल्लाका ९६ तहमध्ये १९ तहमा मात्रै एमालेको प्रभाव रहेको आँकलन गर्दै काँग्रेसले त्यस्ता तहमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाललगायत दलसँग चुनावी तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ । राजधानीको नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा दुई दिनसम्म भएको भेला राजनीतिक र विकास प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको हो ।

भेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत शीर्ष नेताले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीलाई भएको क्षतिपूर्ति प्रदेश नं २ को निर्वाचनबाट गर्नुपर्ने बताउनुभएको थियो ।

छलफलमा पार्टीका केन्द्रीय पदाधिकारीसहित प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासीलगायत १५० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्