Logo

नेपाल विकास र लगानीको नयाँ युगतिर प्रवेश गर्दैछ : ‘प्रचण्ड’



साउन ६, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र लगानीको नयाँ युगतिर प्रवेश गरेको बताउनु भएको छ ।

शुक्रबार साँझ नेपाल उद्योग परिसंघको १४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अबको युग विकास र समृद्धिको युग हो । कुनै बेला धार्मिक, दार्शनिक र राजनीतिक क्षेत्रका लागि प्रतिस्पर्धा गर्ने विश्व अहिले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्दैछ । राजनीतिक नेतृत्वमा ईच्छाशक्ति भयो, दलहरुमा समझदारी भयो र राजनीतिक स्थायित्वको वातावरण बन्यो भने विकास र समृद्धि धेरै टाढा छैन । अब नेपाल पनि विकास र समृद्धिको युगमा प्रवेश गरिसकेको छ । राजनीतिक विवाद र बिमति गरेर विकासलाई ओझेलमा पार्ने छुट हामीलाई छैन ।’

आफ्नो पहिलो प्रधानमन्त्रीकाल अपेक्षित सफल नभए पनि दोस्रो कार्यकालबाट आफू सन्तुष्ट भएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिलोपटक म २०६५ मा प्रधानमन्त्री भएँ । छोटो अवधिमा गणतन्त्र, संविधान सभा, सेना तथा हतियार व्यवस्थापनजस्ता काम गरियो । म शान्तिकालमा छु कि युद्धकालमै ? जस्तो अन्यौलता भयो । एक प्रकारले भन्दा म सपनामा छु कि बिपनामा भन्ने सोच्दा सोच्दै नौ महिने कार्यकाल बित्यो । तर, दोस्रो कार्यकालमा मैले पुरै जिम्मेवारीका साथ, सचेततापूर्वक देशको समृद्धि र विकासको नेतृत्व गरें । मेरै कार्यकालमा देशमा तिब्र आर्थिक विकासको अवस्था सिर्जना भयो, आर्थिक वृद्धिदर विश्वकै तेस्रो स्थानमा उक्लियो, आर्थिक सूचकहरु निकै सकारात्मक रहे, एक दिन पनि राजनीतिक द्धन्द्ध र बन्द–हड्तालको अवस्था सिर्जना हुन दिइएन । कहालीलाग्दो लोडसेडिङबाट मुलूकले मुक्ति पायो । मेरो दोस्रो कार्यकालले देशको नेतृत्व माओवादीले गर्न पायो भने विकास र समृद्धिले फड्को मार्छ भन्ने प्रमाणित गरेको छ ।’

नेपालमा अथाह प्राकृतिक स्रोत साधन र अपार सम्भावना हुँदाहुँदै पनि नेतृत्वमा ईच्छाशक्तिको अभाव हुँदा देशले समृद्धिमा फड्को मार्न नसकेको प्रचण्डले बताउनु भयो । उहाँले थप्नुभयो, ‘नेपालमा अपार सम्भावना छ, अथाह प्राकृतिक स्रोत र साधन छन् । तर, राजनीतिक नेतृत्वमा ईच्छाशक्तिको अभाव भयो, अब हामीलाई त्यो छुट छैन । नीजि र सार्वजनिक क्षेत्रको साझेदारीमा विकास आयोजनामा जोड गर्नुपर्छ । लगानीमैत्री वातावरण र कानून निर्माणमा विशेष ध्यान दिनुपर्छ र नेपालमा रहेको पूँजीलाई पूर्ण परिचालन गर्ने राजनीतिक परिस्थितिको प्रत्याभूति गर्नुपर्छ ।’

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उद्योगपति विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा लगायतका अतिथिहरुले सम्बोधन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्